काठमाडौं,माघ २८- राफायल नाडाल, डानिल मेडभेडेभ र स्टेफानोस सिट्सिपास अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मंगलबार भएको खेलमा विश्व नम्बर दुई स्पेनिस नाडालले कीर्तिमान २१ औँ ग्राण्डसलाम उपाधि जित्ने यात्राको सुरुवात जितबाट गरेका हुन् । उनले लास्लो जेरीलाई पराजित गरेका हुन् ।
ब्याक इन्जुरीका कारण गएको हप्ता एटिपी कप नखेलेका नाडालले अस्ट्रेलियन ओपनमा मंगलबार सर्बियन खेलाडी लास्लोलाई ६–३, ६–४ र ६–१ को सेटमा पराजित गरेका हुन् ।
उनले दोस्रो चरणमा १७७ औँ बरियताका अमेरिकी खेलाडी माइकल मोहसँग खेल्ने छन् ।
चौथो बरियताका रुसी खेलाडी मेडभेडेभसँगै अर्का रुसी खेलाडी एन्ड्री रुब्लेभ पनि दोस्रो चरणमा पुगेका छन् ।
यस्तै पाँचौँ बरियताका स्टेफानोसले ३६ वर्षे फ्रेन्च खेलाडी गिलेस सिमोनलाई ६–१, ६–२ र ६–१ को सेटमा पराजित गरेर दोस्रो चरणमा स्थान बनाए ।
तर तेह्रौँ बरियताका डेविड गोफिन भने वाइल्ड कार्ड मार्फत प्रतियोगितामा प्रवेश पाएका एलेक्सी पोपिरिनसँग पराजित भएर पहिलो चरणबाटै बाहिरिए ।
FACEBOOK COMMENTS