काठमाडौं, जेठ ७ – अर्थ मन्त्रालयले केन्द्रिय, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । शुक्रबार थप १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयु जडान गर्न अर्थले १७ करोड ८७ लाख रुपैयाँको सहमती दिएको छ ।
यससँगै यो साता मात्र कुल ५ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी रकम अस्पतालहरुका लागि सहमति दिइएको हो । स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थले जिल्ला तथा प्रादेशिक अस्पतालहरुलाई रकम दिइरहेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार भक्तपुर क्यान्सर अस्पतालका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख, बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रुपैयाँ बराबरको सहमति दिइएको छ ।
शुक्रबार डोटी अस्पतालका लागि ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख, खोटाङ अस्पतालका लागि ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्य विनायक अस्पतालका लागि ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १ करोड ५५ लाख रुपैयाँ रहेको उल्लेख छ ।
यसअघि अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो ।
साथै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको थियो । त्यसैगरी विभिन्न जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लाण्ट निर्माण गर्नका लागि १६ करोड ८० लाख रुपैयाँको सहमति दिएको थियो ।
विभिन्न अस्पतालहरुमा अक्सिन प्लान्ट स्थापना तथा एचडियु थप गर्न ८५ करोड रुपैयाँ ९३ लाख रुपैयाँको सहमति दिएको थियो । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको बताएको छ ।
FACEBOOK COMMENTS