काठमाडौं : प्रहरीले सांसद ‘अपहरण’को उजुरी नलिएपछि जनता समाजवादी पार्टीले सर्वोच्च अदालत जान तयारी गरेको छ। उक्त पार्टीका नेता मंगलबार उजुरी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगेका थिए। उसले पनि अपहरणको उजुरी लिन अस्वीकार गरेको जनता समाजवादी पार्टीले जनाएको छ।
सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै उनीहरूले सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दिन खोजेका थिए। कानुनी र राजनीतिक उपाय खोजिरहेको नेता राजेन्द्र श्रेष्ठले बताए।
‘सरकारी वकिल कार्यालयले भोलिसम्मको समय दिएको छ। त्यहाँ पनि दर्ता नगरे हामी कानुनी र राजनीतिक उपाय खोज्छौं’, उनले भने, ‘हामीसँग विभिन्न उपाय छन्। के गर्ने भनेर छलफल भइरहेको छ।’
अर्का नेता केशव झाले अब पनि उजुरी अस्वीकार गरिए सर्वोच्च जाने बताए। ‘सरकारी वकिल कार्यालय गएर हामीले धेरै बेर कु¥यौं। अन्त्यमा उहाँहरूले अध्ययन गर्छौं भन्नुभयो। त्यसपछि मात्र के गर्ने भनेर भन्छौं भन्नुभयो’, उनले भने, ‘वकिल कार्यालयमा अस्वीकार भए महानगरीय प्रहरी कार्यालय रानीपोखरी जाने र त्यहाँ पनि अस्वीकार भए सर्वोच्च अदालत जाने तयारी छ।’
उक्त पार्टीले आइतबार टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिने खोजेको थियो। जाहेरी दिन सांसद यादवसँगै शीर्ष नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, राजेन्द्र श्रेष्ठलगायत परिसर कार्यालयमा पुगेका थिए। परिसरले अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो। अपहरण भएको ठाउँ परिसरको क्षेत्रअन्तर्गत नभएको भन्दै एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरिदिएका थिए।
सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालले वैशाख १० गते तत्कालीन समाजवादीका सांसद यादवलाई महोत्तरीबाट आफूसँगै काठमाडौं ल्याएका थिए। समाजवादी पार्टी विभाजनका लागि यादवलाई काठमाडौं झिकाइएको थियो। सांसद बस्नेत र पूर्वमहानिरीक्षक खनालले साथीका नाताले सहमतिमै काठमाडौं ल्याएको दाबी गर्दै आएका छन्। उक्त पार्टीले यस घटनालाई अपहरण दाबी गर्दै आएको छ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS