एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार (मार्च २२) सबैलाई बिहान ७ बजेदेखि राति ९ बजेसम्म ‘जनता कर्फ्यू’को पालना गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै आइतबार १४ घण्टा ‘जनता कर्फ्यु’ घोषणा गरेका हुन् ।
प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै देशबासीलाई संकटको यो घडीमा नआत्तिन र धैर्यताले काम गर्न आग्रह समेत गरे । उनले जनतासँग एक हप्ताको समय दिन आग्रह गरेका छन्। उनले भने, ‘हामी कोरोनाबाट बच्यौँ भनेर अहिले भन्नु ठीक छैन । बच्नको लागि हामी आफै भीडमा नजाने दृढता लिनुपर्दछ। यसका साथै ६०-६५ वर्षदेखि माथिका वृद्धवृद्धा केही हप्ता आइसोलेसनमै बस्नुहोस्।’
भारतले संक्रमण फैलिन नदिन आइतबार (२२ मार्च) देखि एक सातासम्म सबै नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । भारतभर विभिन्न रुटमा चल्ने १ सय ६८ रेलको सेवा ३१ मार्चसम्म बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडान र रेल सेवा बन्द गरिएपछि भारतका विभिन्न सहरबाट घर फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।
हाल भारतमा कोरोना भाइरसको संक्रमण बढ्ढो क्रममा रहेको छ । भारतमा बिहीबार साँझसम्म कोभिड–१९ बाट १ सय ७३ जना संक्रमित भएका छन् । चार जनाको ज्यान गइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये २५ जना विदेशी छन् । १८ राज्यमा संक्रमित देखिएका छन् । सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा छन् । त्यहाँ ४२ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार मात्र भारतभर कोभिड–१९ का १८ जना नयाँ बिरामी पुष्टि भएको छ ।
FACEBOOK COMMENTS