काठमाडौँ, कात्तिक १३ – साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ ।
आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । यस जितसँगै मुम्बईले १६ अंकसहित अन्तिम चारमा स्थान बनाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । देवदूत पाडिक्कलले ४५ बलमा ७४ रन बनाए । जोश फिलिपले ३३ रन बटुले । विराट कोहली ९ रनमा आउट हुँदा एबिडिभिलियर्सले १५ रन जोडे । गुरकिरातमान सिंह १४ र वाशिङ्टन सुन्दर १० रनमा नटआउट रहे । बलिङतर्फ जसप्रित बुम्राहले ३ विकेट लिए ।
१६५ रनको विजय लक्ष्य पछ्याउने क्रममा मुम्बईका क्विन्टन डिकक र इशान किसनले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । डिकक १९ बलमा एक छक्काको मद्दतमा १८ रन बनाएर आउट भए ।
त्यसपछि सूर्यकुमार यादव ब्याटिङमा आए । उनले नटआउट ७९ रन बनाए । उनी म्यान अफ द म्याच भए । इशान किसनले २५ र हार्दिक पान्ड्याले १७ रन बनाए ।
बलिङतर्फ मोहम्मद सिराज र युजवेन्द्र चहलले २–२ तथा क्रिस मोरिसले १ विकेट लिए ।
FACEBOOK COMMENTS