काठमाडौं, २५ कार्तिक – कप्तान श्रेयस ऐर र विकेटकिपर ऋषभ पन्तको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । खराब सुरुवात गरेको दिल्लीलाई कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहँदै मध्यम योगफलमा पुर्याएका हुन् ।
विकेटकिपर ऋषभ पन्त ३८ बलमा ४ चौका र २ छक्का सहित ५६ रनको महत्वपूर्ण योगदान दिए । एक समय ३.३ ओभरमा २२ को अवस्थामा रहेको दिल्लीलाई चौथो विकेटका लागि पन्त र ऐरले ६९ बलमा ९६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई कठिन अवस्थाबाट प्रतिस्पर्धात्मक योगफलको आधार तय गरेका थिए ।
दिल्लीको सुरुवात भने खराब रह्यो । पहिलो बलमै ओपनर मार्कस स्टोइनिसलाई गुमाएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा स्टोइनिस इनसाइड एज लाग्दै विकेटकिपर क्विन्टन डी ककबाट समातिन पुगेपछि गोल्डेन डग आउट पेभिलिएन फर्किनु परेको थियो । बोल्टलेनै मुम्बईलाई दोस्रो सफलता दिलाए । तेस्रो ओभरको चौथो बलमा अजिक्या रहाने लेग साइडमा सट खेल्नेक्रममा एज लाग्दै २ रनमा डी ककबाट समातिन पुगेका थिए । जुन समय दिल्लीले १६ रन बनाएको थियो ।
चौथो ओभरको तेस्रो बलमा स्पिनर जयन्त यादवले अर्का ओनपर शिखर धवनलाई १५ रनमा बोल्ड आउट गरे । धवनले १३ बलमा ३ चौका प्रहार गरे । धवन आउट हुँदा दिल्ली २२–३ को कमजोर अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि पन्त र ऐरले उत्कृष्ट साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।
१५ औं ओभरको अन्तिम बलमा नाथन कुल्टर नाइलले पन्तलाई हार्दिक पान्ड्याबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । बोल्टको १८ औं ओभरको दोस्रो बलमा हेटमायर नाथन कुल्टर नाइलबाट ५ रनमा क्याच आउट हुन पुगे । अक्षर पटेल ९ रनमा क्याच आउट भए ।
मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । जयन्त यादवले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २८ रन खर्चिदा विकेट भने लिन सकेनन् । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।
FACEBOOK COMMENTS