काठमाडौं, फागुन १ – आफ्नो समूहले शनिबार बुटवलमा आयोजना गरेको सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली ज्यादा आक्रामक रूपमा प्रस्तुत भएनन् बरु रक्षात्मक देखिए ।
चुनावी भाषण भन्न मिल्ने उनको मन्तव्यको अधिकांश समय तीन वर्षमा आफू नेतृत्वको सरकारले गरेका कामको दाबी प्रस्तुत गर्न खर्च भयो । संविधानको धारा ७६ उपधारा १ अन्तर्गत्को प्रधानमन्त्रीले आफूले उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन गरेको दलिल प्रस्तुत गरे ।
भाषणको अधिकांश समय विकास निर्माणका लागि आफूले अग्रसरता लिएको उनको दाबी रह्यो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति उनले कटाक्ष गरे । तर, माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताको नाम लिएनन् । युवा नेता रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरिएको विषय उच्चारणसम्म गरेनन् । शुक्रबार भएको नागरिक आन्दोलनप्रति कुनै शब्द खर्चेनन् । हरेक विषयमा तत्काल प्रतिक्रिया जनाइहाल्ने पुरानो शैली बुटवलको सभामा प्रस्तुत गरेनन् ।
प्रचण्ड–नेपाल समूह पार्टीबाट बाहिरिएपछि आयोगहरू गठन भएको पुरानै दाबी दोहोर्याए । र, कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक र संविधानको अनुसूचीमा त्यस विषयलाई समेटिएपछि आफूलाई पदबाट हटाउन चलखेल सुरु भएको पुरानै दाबी बुटवलमा पनि दोहोर्याए ।
प्रचण्ड–नेपाल समूह रहेसम्म पार्टीमा गुटबन्दी झाँगिएको बताए । उक्त समूह बाहिरिएपछि पार्टीमा अनुशासन कायम भएको दाबी प्रस्तुत गरे । एक हिसाबले प्रचण्ड–नेपाल समूह बाहिरिएकामा उनले खुसी प्रकट गरे । ‘उहाँहरू गएपछि अहिले पार्टी गतिशील भएको छ,’ उनले भने, ‘उहाँहरू रहुन्जेल यस्ता सभा कहाँ गर्न सक्नु ।’
२८ माघमा काठमाडौं प्रदर्शनीमार्गमा आयोजित सभालाई उनले ‘गाली पुराण सभा’ संज्ञा दिए । ‘साथीहरूले गाली पुराणका १७ वटा खण्ड बाचन गरे,’ उनले भने ।
FACEBOOK COMMENTS