काठमाण्डौँ — नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी आइतबारबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ।
सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो।
मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर सालजस्तै यस वर्ष पनि नोट सटहीको व्यवस्था गरिएको जानकारी दिए।
राष्ट्र बैंकले विगतमा जस्तै उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।
यस वर्ष केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने व्यवस्था मिलाएको छ।
त्यसैगरी, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका २१ शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न सकून् भनेर राष्ट्र बैंकको थापाथलीबाहेक अन्य तीनवटा बैंकका शाखाबाट पनि साट्न पाउने व्यवस्था मिलाएको निरौलाले बताए ।
उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट साट्न पाइनेछ ।
राष्ट्र बैंकका विराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढीमा समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ ।
राष्ट्र बैंकले ५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरका एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ।
FACEBOOK COMMENTS