काठमाडौं, साउन ७ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। वैशाख २००६ मा चारजना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले पहिलोपटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।
त्यसअघि विक्रम संवत् १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए। १५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला पुत्रकारूपमा रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए।
नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भएको थियो ।
पुष्पलालको स्मृतिमा आज पुष्पलाल अध्यनन केन्द्र लगायत नेकपा तथा त्यसका भ्रातृ संस्थाहरूले सामाजिक दूरी कायम हुने गरी कार्यक्रमहरू आयोजना गरेका छन् ।
FACEBOOK COMMENTS