काठमाडौं,माघ ११- तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार आज शनिबार मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।
राष्ट्रिय सोनाम ल्होछार २८५६ बृहत् मूल समारोह समितिले आज राजधानीको टुँडिखेलमा एक औपचारिक कार्यक्रम आयोजना गरेको छ । विशेष गरी १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने परम्परा छ ।
मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८ सय ५६ औँ वर्ष सुरु हुन्छ । शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा शनिबार सांस्कृतिक झाँकीसहित बाजागाजाको र्याली, तामाङ जातिको मौलिक वेशभूषा र खाना प्रदर्शनी सांस्कृतिक गतिविधि लगायत विभिन्न कार्यक्रम आयोजना गरिने जनाएको छ ।
त्यसैगरी ल्होछारको अवसरमा शनिबार दिउँसो टुँडिखेलमा एक सांस्कृतिक कार्यक्रम हुँदै छ । कार्यक्रममा तामाङ वेशभूषा झल्कने वस्त्र तथा टोपी लगाएर यही समुदायका मानिस भेला हुँदै छन् । तामाङ भाषामा ल्होको अर्थ नयाँ र सारको अर्थ वर्ष भन्ने हुन्छ । ल्होछारका अवसरमा साथीभाइ तथा आफन्त भेला भएर मीठामीठा परिकार बनाएर खानुका साथै एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गर्छन् ।
FACEBOOK COMMENTS