काठमाडौं, माघ २०-नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता दावी गर्न नेकपा प्रचण्ड–माधव पक्षका शीर्ष नेताहरु आज निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।
सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्री समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित पुगेका हुन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अहिले नेकपा दुई खेमामा विभाजित बनेको छ ।
यसअघि ओली र प्रचण्ड नेपाल दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेपनि आयोगले दुबै पक्षको निर्णय अस्वीकार गर्दै नेकपा विभाजन नभएको बताएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड-माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।
प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड-माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली पक्षले पनि केन्द्रीय कमिटी विस्तार गरेको थियो ।
FACEBOOK COMMENTS