काठमाडौं, जेठ २४ – ताइवानको चु जी फाउण्डेसनले स्वयम्भुस्थित आनन्दकुटी विद्यापीठ आइसोलेसनलाई आवश्यक विभिन्न सामग्री सहयोग गरेको छ । फाउण्डेशनले ‘अटो क्लेभ मेशिन’ एक थान, पोर्टेबल एक्स–रे एक थान र इसीजी मेशिन एक थान उपलब्ध गरएको छ ।
फाउण्डेशनको तर्फबाट मैत्रीमहास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आइसोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवनराम श्रेष्ठले ग्रहण गरेका छन् । ५० बेड क्षमताको आइसोलेसन सेन्टरमा हाल २३ जना उपचाररत छन् । २५ जना कोभिड–१९ जितेर स्वास्थ्यलाभ गरी डिस्चार्ज भइसकेका छन् ।
काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठको संरक्षकत्वमा काठमाडौं महानगरपालिका–१५ तथा स्थानीयवासीको सहयोगमा सञ्चालन भइरहेको अक्सिजनसहितको सो आइसोलेसनका लागि आनन्दकुटी विद्यापीठले स्थान उपलब्ध गराएको छ भने मोडेल हस्पिटल नर्सिङ्ग कलेजबाट मेडिकल टीमले २४ घण्टा नै डाक्टर र नर्सको सेवा प्रदान गर्दे आएको छ ।
आइसोलेसनमा एक्स–रे, इसीजी र कोभिड बिरामीका सम्पूर्ण परिवारलाई पीसीआर परीक्षणको व्यवस्था गरिनाका साथै पौष्टिक खाजा तथा खानालगायत सम्पूर्ण सुविधाहरू निःशुल्क रूपमा प्रदान गरिएको छ ।
FACEBOOK COMMENTS