काठमाडौं,फागुन २४ – आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको बताएको छ।
अन्तर्राष्ट्रिय तथा घरेलु वायुसेवा र हेलिकप्टर उडानमा यसले प्रत्यक्ष असर गरेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेपछि भ्रमणका लागि नेपाल आउन पर्यटक हिचकिचाइरहेको संघका प्रवक्ता योगराज कँडेल शर्माले अन्नपूर्णलाई जानकारी दिए। ‘स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकाले नेपालबाट फर्किने पर्यटकलाई संक्रमण नभए पनि उनीहरूको देशमा क्वारेन्टाइन राख्ने डरले अहिले पर्यटक नेपाल आउन चाहँदैनन्’, उनले भने।
पर्यटक भित्रिने क्रम घटेसँगै यसले मुलुकको आन्तरिक उडानमा चार अर्ब रुपैयाँभन्दा बढीको नोक्सान हुने संघले उल्लेख गरेको छ। यसले कम्तीमा ६ महिनासम्म व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन ९आएटा० ले सन् २०२० मा हवाई यात्रुमा आएको कमीले विश्वका वायुसेवा कम्पनीले ११३ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी व्यहोर्ने प्रक्षेपण गरेको छ। यसबाट नेपाली वायुसेवा कम्पनीमा अछुतो रहने देखिँदैन।
नेपालमा कोरोना संक्रमण शून्यको अवस्थामै हुँदा पनि यहाँ आउने पर्यटकको संख्या ओरालो लागेको छ। पर्यटक नआएपछि घरेलु वायुसेवा कम्पनीले उडान भर्दै आएका विभिन्न क्षेत्रका पर्यटकीय स्थलको उडान, माउन्टेन फ्लाइटलगायत उडान प्रभावित बन्न पुगेको छ। यो अवस्था अझै एक महिना लम्बिने हो भने दैनिक क्यान्सिलेसन ८० प्रतिशम्म पुग्ने बताइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारी भने अन्तर्राष्ट्रिय उडानमा कटौती नभएको बताउँछन्। यात्रु पाउने विमानले अहिलेसम्म उडान बन्द नगरेको विमानस्थलका प्रवक्ता देवचन्द्र कर्णले बताए। कोरोना संक्रमण फैलिएको चीनलगायत अन्य मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउने अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत मुलुकबाट नेपाल आउन कमी भएको छ। तर, मध्यपूर्वी एसियाबाट आउने पर्यटक संख्या बढेको छ।
प्रवक्ता कर्णले भने विमानस्थलमा आउने यात्रुको चापमा कमी आएको स्वीकारे। उनका अनुसार विमानस्थलमा दैनिक १३ हजार यात्रु ओहोरदोहोर गर्ने गरेकोमा अहिले दैनिक १० हजारभन्दा कम यात्रुको आहोरोदोहोरो हुने गरेको छ।
अध्यागमन विभागको तथ्यांकअनुसार मार्चभर हिमालय एयरलाइन्स, एयर चाइना, चाइना साउदर्न, चाइना इस्टर्न, सिचुवान र तिबेत एयरलाइन्सले चीनका लागि उडान रद्द गरेका छन्। अन्य कम्पनीले नियमित उडान भर्दै आएका छन्। नेपाल वायु सेवा निगमले पनि अन्तर्राष्ट्रिय उडान कटौतीमा अहिलेसम्म कुनै तयारी गरेको छैन।आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
FACEBOOK COMMENTS