काठमाण्डौं, १३ आश्विन – नेपाल चेम्वर अफ कमर्शले आयातित वस्तुहरुमा कारोवार मूल्यलाई मान्यता नदिइनुलाई हालको मूल्य वृद्धिको कारक तत्व रहेको धारणा सार्वजनिक गरेको छ । कारोबार मुल्यलाई मान्यता दिईएको खण्डमा यसबाट मूल्य वृद्धि नियन्त्रण गर्न सघाउ पुग्ने धारणा चेम्वरको रहेको छ । यसका साथै अधिक भसार मुल्याड्ढन, अधिक भंसार दरवन्दी, कृषि जन्य वस्तुहरुको बजार मूल्य श्रृंखलामा बिचौलियाको संलग्नताले थप जटिलता ल्याएको चेम्वरले निष्कर्ष निकालेको छ ।
चेम्बरले सधै चाडपर्बको बेलामा मात्र बजार अनुगमन गर्ने नभई नियमित प्रक्रियाको रुपमा बजार अनुगमन गर्ने कार्य गर्नुपर्ने पैरवी गर्दैै आइरहेकोमा चाडपर्वमा बिभिन्न निकायहरुबाट बजार अनुगमन गर्ने कार्य हुने र अन्य बेला नियमित नहुने कारणले समेत आपूर्ति व्यवस्थापनमा थप जटिलता ल्याएको औंल्याएको छ । चेम्बरले हालै सरकारले बजेट वक्तब्य मार्फत ल्याएको भिसिटिएस, अनिवार्य प्यान नम्बर लगायत विविध कारणले गर्दा त्यसको नतिजा स्वरुप आपूर्ति कमी हुन गई मूल्यमा वृद्धि हुन गएको देखिएको बताएको छ । आम उपभोक्तालाइ प्रत्यक्ष प्रभाव पर्ने नीतिगत व्यवस्था लागू गर्नु पूर्व गहिरो अध्ययन नहुदा मुलुकवासीको सबैभन्दा ठूलो चाड दशैको अवसरमा आम उपभोक्ताले समस्या व्यहोर्नु परेको राय सहित बजार अनुगमन कार्य एकद्धार प्रणालीबाट मात्र हुनु पर्ने सुझाएको छ ।
ठूला गाडीको निर्वाध प्रवेश सम्बन्धमा,
हाल ट्राफिक जामको कारण ६ चक्के भन्दा ठूला ट्रकहरु काठमाण्डौं प्रवेशमा रोक लगाईएबाट दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थामा थप समस्या उत्पन्न भै बजारमा उपभोग्य सामान सर्वसुलभ हुन नसक्ने चेम्बरको प्रक्षेपण छ । हालको अवस्थाको गांभीर्यतालाई समेत ध्यान दिई सांझ ६ बजे पछि त्यस्ता ढुवानीका साधनहरुलाइ काठमाण्डौ प्रवेशमा निर्वाध भित्राउने व्यवस्था हुन जरुरी रहेको चेम्बरले निष्कर्ष निकालेको छ ।
FACEBOOK COMMENTS