काठमाडौं, माघ २२- नेपाल राष्ट्र बैंकले अनलाइन भुक्तानीलाई सहज बनाउन आफ्नै राष्ट्रिय भुक्तानी प्रणाली ‘नेशनल स्वीच’ (राष्ट्रिय भुक्तानी द्वार) स्थापना गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकको भुक्तानी व्यवस्थापक विभागका निर्देशक सुवास घिमिरेको संयोजकत्वमा गठित समितिले प्रारम्भिक अध्ययन गरिरहेको छ । विद्युतीय कारोबारलाई स्वचालित र छरितो बनाउन राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न लागिएको हो । यद्यपि, स्वीचले पहिलो चरणमा सरकारको राजस्व संकलन र भुक्तानीको मात्र काम गर्ने राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकको भुक्तानी व्यवस्थापक कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार उक्त समितिले स्वीच सञ्चालन गर्दा केकस्ता अप्ठ्यारा छन् भन्ने विषयमा अध्ययन गर्नेछ ।‘समितिको प्रतिवेदन तयार भएपछि त्यसमाथि अर्थ मन्त्रालय, सूचनाप्रविधि केन्द्रसँग पनि छलफल हुन्छ । त्यसैका आधारमा नीति बनाउँछौं,’ उनले भने, ‘नेशनल स्वीच भुक्तानी द्वारका लागि काम गर्ने एउटा प्रणाली हो । शुरूमा यो राजस्व संकलन र भुक्तानीलाई व्यवस्थित गर्न केन्द्रित हुनेछ । दोस्रो चरणमा सबै बैंकको एउटै स्वीच प्रणाली बनाउने योजना छ ।’
उनले ई–सेवा, खल्ती, आईएमइ–पेलगायत वालेटबाट राजस्व तिर्न सकिए पनि ती त्यति उपयोगी नभएको बताए । ‘यस्ता वालेटलाई पनि यही प्रणालीमा जोड्न सकिन्छ । त्यसैले वालेट र कार्डलाई नेशनल स्वीचमा जोडेर राजस्व संकलन तथा विद्युतीय कारोबारलाई सहज र भर पर्दो बनाउँछौं,’ उनले बताए ।
नेशनल स्वीच आएपछि राजस्व संकलन अनलाइनमार्फत गर्न सहज हुने उनको भनाइ छ । उनले भने, ‘दूरदराजमा बस्ने मानिस थोरै रकमको राजस्व भुक्तानी गर्न कार्यालयसम्म पुग्नुपर्ने बाध्यता छ । यो प्रणाली आएपछि उनीहरूलाई राजस्व कार्यालयसम्म धाइराख्नु पर्दैन ।’
नेपालका बैंकहरूले अन्तरराष्ट्रिय स्तरको सुरक्षित राष्ट्रिय भुक्तानी प्रणाली बनाउन निकै अघिदेखि माग गर्दै आएका छन् । नेशनल स्वीचमा राजस्व संकलन मात्र नभएर बैंक तथा वित्तीय संस्थामार्फत हुने सबै कारोबारलाई समाबेश गर्न उनीहरूको जोड छ ।
नेपालको आफ्नै भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) नहुँदा कार्ड तथा अन्य माध्यमबाट हुने विद्युतीय कारोबारका लागि बैंकहरू अमेरिकी एक्सप्रेसजस्ता विदेशी संस्थामा जानुपर्ने बाध्यता थियो । ‘नेशनल स्वीच भएमा नेपाली बैंकले पनि अन्य देशमा सहजै चल्ने कार्ड जारी गर्न सक्छन् भने विदेशी कार्ड पनि सहजै स्वीकार गर्न सक्छन् । विदेशी कम्पनीका लागि तिर्नुपर्ने रकमसमेत स्वदेशमै रहन्छ,’ नबिल बैंकका एक अधिकारीले बताए ।
हाल नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले केहीले आफ्नै प्रणाली बनाएर र केहीले अन्य कुनै कम्पनीसँग सहकार्य गरेर भुक्तानी राफसाफ गर्दै आएका छन् । हिमालयन बैंकले अन्य बैंकसँग मिलेर स्वीचिङको काम गर्दै आएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट र नबिल बैंकले आफ्नै स्वीचिङ प्रणाली स्थापना गरेर डिजिटल कारोबार गर्दै आएका छन् ।
केन्द्रीय बैंकले सबैलाई समेट्ने गरी नेशनल स्वीचिङ प्रणाली स्थापना गरे भुक्तानीका लागि अलग अलग स्वीचिङ आवश्यक नपर्ने बैंकरहरूको भनाइ छ । राष्ट्रिय भुक्तानी प्रणाली स्थापना भए नेपालको बैंकिङले पनि डिजिटलाइजेशनमा फड्को मार्ने बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS