काठमाडौँ,माघ २२ – नेपाल बन्द, हड्ताल र चक्काजाम सदाको लागि अन्त्य गर्नु पर्छ भनेर प्रतिबद्धता जनाएका दलहरुले नै सरकारबाट बाहिर हुँदा नै आफुले गरेको प्रतिबद्धतालाई उलङ्घन गर्ने प्रयास गरेका छन् ।
दलिय स्वार्थका लागि आम हड्ताल गरेर सर्बसाधरणदेखि आम नागरिकलाई सास्ती दिने काम राम्रो होइन ।
गरि खाने नागरिकलाई यस्ता बन्द, हड्तालले नराम्रो प्रभाव पारेको हुन्छ ।
एक दिनको बन्द हड्तालले देशको अर्थतन्त्रमा करोडौँ नोक्सान पुर्याएको हुन्छ ।
आम हड्ताल केका लागि ?
यो विषयमा राजनीतिक दलहरु किन गम्भिर बन्न सकेनन् ?
बन्द हड्तालका कारण बिरामी, विद्यार्थी, ज्याला मजदुर लगायत विभिन्न क्षेत्रमा यसको प्रभाव पर्दछ ।
बन्दका कारण यातायात सुचारु हुन नसक्दा विगतमा पनि कैयौँ सिकिस्त बिरामी र प्रसुति व्यथाले च्यापेका महिलाले समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेका प्रशस्त उदाहरणहरु छन् ।
आज हुने भनिएको आम हड्तालको कारण यस्ता घटना पुनस् नदोहोरिउन भन्ने हाम्रो चाहना हो ।
लोकतन्त्रमा शान्तिपूर्ण ढंगले सभा सम्मेलन, जुलुस गर्ने अधिकार सबैलाई हुन्छ ।
तर लोकतन्त्रले दिएको अधिकार भन्दै उच्छृंखल र अराजकता फैलाउने छुट भने कसैलाई छैन ।
सरकारले आम नागरिकको शान्ति, सुरक्षामा विशेष ध्यान दिन जरुरी छ ।
अत्यावश्यक कामका लागि हिंडेका सवारी साधनमाथि आन्दोलनकारीले दुर्व्यवहार र तोडफोड जस्ता अमानवीय काम हुनु भएन ।
आन्दोलनकारीले विगतमा सवारी साधनमाथि तोडफोड गर्ने, आगो लगाइदिने, ढुंगा मुढा गर्ने, बाटोमा टायर बाल्ने जस्ता उच्छृंखल काम गरेका थिए ।
आज हुने भनिएको आम हड्तालबाट त्यस्ता खालका प्रवृति नदोहोरिउन् ।
आम नेपाली जनता यी र यस्ता गलत प्रवृतिबाट वाक्क दिक्क भैसकेका छन् ।
नेपाली जनताले सधैं जसो हड्ताल,जुलुस, नेपाल बन्द,चक्काजाम जस्ता अशान्ति निम्ताउने गतिविधि मन पराउँदैनन् ।
नेपाली जनताले दीगो शान्ति,सुशासन र विकास चाहेका छन् ।
यी तीन विषयमा नेपाली जनता जुन बेला पनि हातेमालो गर्न तयार छन् ।
जबसम्म देशमा दिगो शान्ति ,सुशासन र विकास हुँदैन, तबसम्म नेपाली जनताले दुःख पाइरहेका हुन्छन् ।
यो कुरा सबैले बुझ्न जरुरी छ ।
संसद विघटनपछि राजनीतिक दलहरू र नागरिक समाज सडक आन्दोलनमा छन् ।
सडक आन्दोलनले मात्र समस्याको समाधान हुँदैन ।
समस्या समाधानको लागि संवाद,सहमति र सहकार्य नै उत्तम बाटो हो ।
विगतमा पनि ठूला–ठूला समस्याहरु संवाद, सहमति र सहकार्यबाट नै समाधान भएका प्रशस्त उदाहरण छन् ।
अब पनि त्यही बाटो अवलम्वन गरेर वर्तमान राजनीतिक समस्याको समाधान खोज्नु जरुरी छ ।
FACEBOOK COMMENTS