अशोक घिमिरे
सन् १९७० सालको कुरा हो । म शायद ३ वर्षको थिए । बुवा भारतिय सेनामा हुनुहुन्थ्यो । जागिर थियो आसामस्थित नागालैण्डको नगिनीमोरा । एकपटक वहांको सरुवा तुल्लीपोष्टमा भयो, पोष्ट कमाण्डरको रुपमा । हामी थ्रिटन गाडिमा चढेर तुल्लीतर्फ लाग्यौ । चौसठ्ठ मामाले मलाई बोक्दै नगनीमोराबाट विदा गरे । चौसठ्ठ मामा सिपाही थिए, त्यस घरको अड्ली तर मेरो गुरु । कालो पाटीमा मलाई ए, बि, सि, डि………क, ख, ग, घ चौसठ्ठ मामाले सिकाएका थिए । चौसठ्ठ मामाको वास्तविक नाम रहेछ हर्क बहादुर गुरुड । उनले मलाई बोकी म्वाई खाए र थ्रिटन गाडिको फ्रन्ट सिटमा राखे । चौसठ्ठ मामाले टाढैबाट हात हल्लाउदै विदा गरे । मामासंगै उभिएको थियो मेरो मिल्ने साथी शंकर नाकभरि सिंगान बोकेर । उ लेसनायक कुल बहादुर राईको छोरा रहेछ । उ संग लंगरमा गई आलु चोरेर खाने गरेको बिर्सेको थिईन मईले । अब तुल्लीमा म संग शंकर हुने छैन । नगनीमोराको हेडक्वाटर जस्तो लंगर पनि हुने छैन । म अब को संग खेलु ? थ्रिटन गाडी गुड्न थाल्यो जंगलैजंगल । तर म नगनीमोरामा खेलिरहेको थिए शंकरसित ।
तुल्ली नागालैण्डको मोकोकजुङ जिल्लामा पर्दछ । तुल्ली पहाडै पहाडको काखमा बसेको सानो वस्ती हो – कतै अग्लो, कतै भिरालो, कतै समथल । तुल्लीमा हाम्रो बासस्थान चारैतिर जंगलबाट घेरिएको थियो । डांडाका भिरमा बनेका थिए ससाना आर्मी ब्यारेक । डांडाको बीचमा पर्दथ्यो हाम्रो घर, घरदेखि तल देखिन्थे ठुला ठुला झाडी र त्यसदेखि पनि मुन्तिर पोखरी स्वरुप देखिने गहिरो मैदान लाग्दथ्यो मलाई । जहां फाईरिंग प्रयाक्टिस हुने गरेको कोहिकोहि बेला देख्थे म । मलाई त्यो गहिरो मैदानपट्टि खासै सरोकार थिएन, सरोकार पनि कसरी होस र ? बड्याङबुडुङ बम पड्किरहन्थ्यो त्यहां । आधा मैदान त ठु–ठुला घारीले नै छलिदिन्थ्यो । बमको आवाजबाट कसलाई डर लाग्दैन र ? त्यसमाथि म भुरा । बरु घरदेखि उंभो डांडाको टुप्पोमा अवस्थित हावाघरपट्टि ध्यान जान्थ्यो । कालेले एकदिन मलाई फ्रेण्डसिपमा ज्वाईन ग¥यो । उसले निलो रंगको हाफपेण्ट लगाउन्थ्यो अगाडिबाट चिचिक्क तर पछाडि ठुलो भ्वांङ देखिन्थ्यो । मेरो नजर उसको हाफपेण्ट पछाडिमात्र जान्थ्यो । उ उकालोमा यसरी दौडिन्थ्यो मानौ उ बांदरको बच्चा हो, म फयां फयां गर्दै उसको पछाडि पछाडि दौडिन्थे । म दौडिनुको आशयनै हावाघर पुग्नु थियो । हावाघर पुग्न त्यति सहज कहां छ र ? हावाघर पुग्न ठाडो उकालो हिड्नुपर्दथ्यो, करिब १५ मिनेट जति । काले वास्तवमा मेरो दाईको साथी थियो । मेरो दाई म भन्दा २ वर्ष जति जेठा थिए । मेरो दाईको नाम कुमार हो । तर मेरो क्यामिष्ट्रि काले संग खुब जम्थ्यो । सबैले उसलाई आसामे कान्छा भन्थे । कालेको बुवा हावाघरको सेण्ट्री थियो । एकदिन उसले मलाई कोतखाना र सिग्नल अगाडिको बाटो हुदै हावाघर लिएर गयो । हावाघर अद्भुत लाग्यो मलाई । सपनामा पनि कहिलेकांही हावाघर देख्छु म । हावाघर निकै अग्लो थियो, लामो सिंढि चढ्नुपर्दथ्यो । काले खुशी हुदै अघि अघि सिंढि चढ्थ्यो, उसले हावाघर आफ्नो बाबुको बिर्ता सम्झन्थ्यो क्यार । मलाई बेलाबेलामा धाक देखाउदै भन्थ्यो मेरो बाबाको हो यो हावाघर । सांच्चै हावाघर त उसकै बाबाको पो रहेछ । उसको बाबा यानि आसामे मामा त्यहांको सेण्ट्री भएर न हामीले चढ्न पायौ हावाघर । मलाई आसामे मामाले सिंढि चढ्न सहयोग गरे । आखिर म ठहरिए पोष्ट कमाण्डरको छोरा । मलाई पहिलो पटक आफु निकै अग्लो भएको महशुस भो किनकी मईले भर्खरै चढेको डांडा भन्दा नि म अग्लो भएको थिए । डांडाको टुप्पोमा ठडिएको हावाघर भन्दा नी अग्लो भएको महसुस भो । मान्छे उडाउला जस्तो हावा चलेको थियो । हावाघरको हावाले हामी जस्ता भुराहरु ठहरै हुन्थ्यौ, आसामे मामा नभएको भए । वास्तवमा हावाघर नागालैण्डको एउटा अग्लो भिउ टावर हो जुन सैनिकले सुरक्षा दि«ष्टिकोणले बनाएको रहेछ । हावाघरको वरिपरी जगलैजंगल थियो, कतै कतै पातला नागाहरुको गाउं देखिन्थे जस्तोकी मेराङकङ, अनाकी, काङसुङ…….। एक भागमा घना जंगलको अगाडि निलो नदि बग्दथ्यो, मेलक नदि । निलो मेलक नदीमा जंगली जनावार दौडिएको दृश्य मनमोहक लाग्दथ्यो । जंगली जीवजन्तुहरु पानीसंग फयुजन हुन खोजेको दृश्य अचम्म देखिन्थ्यो । जंगल र त्यहां रहेका जीवजन्तुहरु आर्मीको सुरक्षा घेरा भित्र रहेछन जस्तोकि वन्यजन्तु आरक्षण आर्मिको घेरा भित्र रहने गर्दछ । प्रायः सबै मान्छेहरु त्यहां प्राकृतिक दृश्य, हरियाली पहाड, जंगल, नदिनाला र जंगली जनावरको मजा लुट्न आउंदा रहेछन । आसामे मामाले दुरवीन मेरो आंखाको छेउमा राखिदिए । ओहो मलाई त जंगलभित्र छिरे जस्तो लाग्यो । नदीको किनारमा उभिए जस्तो लाग्यो ।
अहा कति धेरै डियरहरु…………..सबै डियरहरुले त मलाई नै हेरे जस्तो लाग्यो । रंगिचंगी चराहरु आकाशमा उडिरहेको लाग्यो । अरु के के जनावारहरु थिए, चिनिन् ।
मैले आसामे मामालाई सोधे मामा सेतो हात्ति देखिन्दैन त ? मलाई त कालेले सेतो हात्ति देखाउछु भनेर ल्याएको थियो । आसामे मामाले भने बाबु सेतो हात्ति हेर्न त राती आउनुपर्दछ ।
घरमा गएर आमासंग खुब रोएछु, मलाई सेतो हात्ति देखाउन लानु भनेर । आमाले मलाई हुन्छ हुन्छ भन्दै मुसार्दै काखमा सुताउनु भो । म आमाको काखमा भुसुक्क निदाएछु । सपनामा म हावाघरमा थिए, आमासंग । मामाको साटो आमा पो हुनुहुदोरहेछ त्यहां । वहांले मलाई त्यसै गरी दुरविन आंखा अगाडि राखिदिनु भो र मईले दिउंसो देखेका सबै डियरहरुलाई सेतो हात्तिमा कनर्भट गराईदिनु भो । सेता हात्तिहरुले मलाई हेरिरहेको झै लाग्यो, केहि त म तिरै अघि बढिरहेको झै लाग्यो । थैक्स आमा……..।
तुल्लीमा उफ्रिन पाफ्रिने खासै आंगन पनि थिएन, घरबाट बाहिर निस्कन्दा जताततै भिर मात्र देखिन्थ्यो । तर घर फराकिलो थियो, कोठै कोठा । झिंगटीका घर यति फराकिलो, कोठै कोठा नगनीमोरा भन्दा कम थिएन । बांसको टाटिमा माटो लिपिएको घरका भित्तँहरु, काठका खांबा, खरको छानो, माटोले लिपिएको भुंई…….त्यसमाथि रातो माटोको भुंई एकदमै अर्गयानिक लाग्दथ्यो । घरदेखि पुर्व तेस्रो बाटो भिरमा बांगो टिंगो हिड्दै गए पुगिन्थ्यो सानो स्टोर जसलाई अक्सर हामी चिनीघर भन्थ्यौ र स्टोर इन्चार्जलाई चिनी मामा । बुवाले भन्नु भएको थियो रे ‘जब मेरे बच्चे लोक यहां आएगा, चिनी जरुर खिलाईए ।’ त्यसैले होला चिनी मामा हामी पुग्ने वित्तिकै हात भरि चिनी हालिदिन्थे । बालुवा जस्ता मोटा मोटा चिनी थिए । आधा चिनी हातबाट झर्दथ्यो । आधा चिनी बाटामा पोखिन्थ्यो । हाम्रो दिलमा चिनीमामा सुपरस्टार हुदै गए । उनी व्यवहारले पनि मिजासिला थिए, बच्चाहरुलाई माया गर्थे । भोक लागेको बेला चिनी बांडेर उद्धार गर्थे उनी भुराहरुलाई । चिनीमामा विहारी रहेछन, उनको सरुवा भएर स्टोरकिपरमा सरदारजी आए पछि हाम्रो स्टोर जानै बन्द भो । तर घरमा त चिनीआमा हुनुहुन्थ्यो नी ।
तुल्लीमा नगनीमारा जस्तो स्कुल थिएन । तर विहान ८ बजेदेखि ११ बजेसम्म पढाई हुन्थ्यो, बतासे डांडामा । बतासे डांडामा टयुशन सेन्टर चल्थ्यो । त्यो टयुशन सेन्टर पनि वुवाले शुरु गरेको रे, बतासे डांडाको न्वारन सहित । शिक्षक थियो एउटा, त्यो पनि सिपाहि कर्ने । हामी उसलाई कर्नेल सर भन्थ्यौ । उसको नाम रहेछ कर्नेल बहादुर विष्ट । उ कुमाई रहेछ । छोरा कर्नेल होस भनेर उसको बुवाले नाम कर्नेल राखिदिएको रे । गाउंमा सबै जना दंग परेर भन्थे रे “यसको निधार पनि ठुलो छ, पक्कै कर्नेल हुन्छ क्यार ।” सिपाहि भए पछि उसलाई सबैले कर्ने भन्न थालेछन् । आमाले भन्नुहुन्थ्यो ‘कर्ने त ५ कक्षा सम्म पढेको छ, मास्टरको लागि लायक छ ।’ जवानको लंगर अगाडिबाट निकैबेर डांडा उकालो चढदै गए पछि पुगिन्थ्यो, बतासे । अलि समथर, शान्त स्थान जहां ठुला ठुला ढुंगाहरु थिए । बतास खुब चल्थ्यो । तर विहानको समयमा थोरै । ढुंगामा बस्थे ८, १० जना भुराहरु, कर्ने सर अलि अग्लो स्थानमा रहेको ढुंगामा लौरो लिएर बस्थ्यो । अक्सर भुराहरु चक र पाटी बोकेका हुन्थे । काले, कुमारदाई र आलेदाईले कापी र पेन्सिल बोकेका थिए । आमाले ब्रेकफास्ट तयार गर्नुहुन्थ्यो । डालडा घिउमा पकाएको रोटि र आलु भाजी तरकारी । दुध हालेको चिया, सेतो मखमा आधा, त्यै पनि पाउडर दुध । पाउडर दुधको पोका खोले पछि आधाउधि त फयाल्नुपर्दथ्यो, डेट स्पायर भएकोले । आसामे चियापत्ति, दालचिनी र पाउडरदुधको चिया पिएर शुरु शुरुमा आमा नै लोटपोट हुनु भएछ, वहांले पहाडमा कहां पाउनु र त्यस्तो चिया ? त्यसमाथि चिया आसाममा राम्रो सगुन मानिन्छ । घरमा आउने जो कोहीलाई पान तामुल र आसामे चिया नजराना स्वरुप टक्राईन्छ । आसामे चियामा दिवाना हुदै गए पछि बुवालाई पक्कै चिनी चियापत्तिको जोहो गर्न गाह्रो भएको हुनुपर्दछ । त्यसमाथि हामी बच्चैदेखि चियाको पारखी भएछौ । कर्नेल सरको अगाडि त सधै रातो हरियो कोठे रंगको थर्मस हुन्थ्यो, उ सेतो मखमा चिया खन्याउथ्यो, त्यो पनि भरि । उ चियाको चुस्की लिदै हामीलाई पढाउथ्यो। बीच बीचमा कर्ने सरले ब्रेक लिदै गुन्गुनाउथे, “मेरे सामने वाली खिड्कीमे एक चांदका टुक्रा रहेता है”। उ बेअदवरुपमा चिया पिएको म थुक निलेर हेरि बस्थे । तर लंगरको चिया मेरो आमाको हातले बनाएको चिया भन्दा कहां मिठो हुन्छ र ? म चित्त बुझाउथे ।
तुल्लीको खासियत गर्मी याममा खुब गर्मी, जाडो याममा खुब जाडो हो । यो आउ नागाको बस्ती हो, नागा गाउं हाम्रो स्थानबाट करिब १ घण्टा मात्र टाढा थियो । मोकोकजुङ जिल्लामा अहिले पनि आउ नागाको बस्ती छ । कर्नेल सर भन्थे, आउ नागा खतरनाक हुन्छन । मिचुङ वनका जंगली जनावरहरु भन्दा पनि खतरनाक । आउ नागाहरु दुश्मनलाई मार्थे, टाउकोका लागि । अनि खप्परको पुजा गर्थे । त्यसैले उनीहरुलाई ‘हेड हन्टर’ पनि भनिन्थ्यो । आउ नागाहरुसंग दुश्मनी मोल्न खतरनाक मानिन्छ रे । जति दुश्मनको खप्पर भेला ग¥यो र पुजा ग¥यो, त्यति नै शक्तिशाली भएको ठान्छन रे उनीहरु । एकदिन परिवारसंग मोकोकजुङ जांदा त्यहांको ठुलो चाड ‘मोआत्सु’ मा खप्परका माला लगाएर नाच्दै गरेको देखेथे आउ नागाहरु । उनीहरुको ओंठ रातो देखिन्थ्यो, मानौ उनीहरु मान्छेको आला रगत नै पिएका हुन । देखेर मलाई डर लाग्यो । तर आमाले भन्नु भो ‘यिनीहरुले पान तामुल खाएका हुन । त्यसैले ओंठ रातो भएको हो ।’ सुनेर मेरो डर र भ्रम कता कता उडेर गयो ।
जुदिकोङ स्थानमा सैनिक डफ्फा सहित पेट्रोलिङ गर्दै गर्दा बुवालाई आउ नागाको समुहले हमला बोलेछन, उनीहरु हाथमा लामा लामा भाला र दाउ बोकेका रहेछन । बुवाले आउ भाषामा भन्नुभएछ, तिम्रो राजा त मेरो साथी हो, सबै भन्दा बढी मिल्ने साथी । आउ नागाहरु खुशी भए, हातमा दाउ र भाला खेलाउदै बुवालाई घेरा हालेर उफ्रिन थालेछन र नागा भाषामा धन्यवाद दिएछन । बुवाको कुरा सुनेर लाग्यो नागाहरु फ्रेण्डली पो रहेछन । होईन भने आमाले सधै नागा च्यादर किन ओढ्नु हुन्थ्यो र ?
नागाहरु जंगलमा आदिबासी भई बस्दा ब्रिटिसले क्रिस्चियन बनाएछन, जंगल जंगलमा चर्च बनाईदिएछन, नत्र उनीहरुको धर्म छुट्टै थियो । अचम्म त नागालैण्डको अफिसियल भाषा समेत अग्रेजी बनाईदिएछन । कुनै वर्गलाई गुलामी बनाउन धर्म परिवर्तन गरिनुपर्छ, आफ्नो भाषा लादिनुपर्छ, आफ्नो पहिचानमा मास्क लगाईदिनुपर्छ । त्यसैले होला नागाहरु अहिले पनि आफ्नो अस्तित्वका लागि लडाई लडेका होलान !
घरमा रेडियो घन्किएर बज्थ्यो तर म केहि बुझ्दिन थिए । रेडियोबाट बज्ने थुप्रै गीतहरु मध्ये आमाले प्रायः दुई वटा गित गुन्गुनाउनु हुन्थ्यो । ‘मेरे भैसका डण्डा क्यु मारा, वो खेतमे चारा चर्थे थे ’ र ‘मेरे देशकी धर्ती सोना उगले, उगले हिरेमोती’। लाग्दछ यी दुई गीतहरु त्यो बेलाका सुपरडुपर गीत थिए र कता कता वहांको जीवनको अन्तरसंस्करणसंग जोडिएका थिए ।
घर बाहिर निस्कियोकि एउटै चिजको डर लाग्दथ्यो । त्यो हो रेल किरा…….। एक हात लामो रेल किरा ठयाकै सांप जस्तो । त्यति लामो र ठुलो रेलकिरा त मईले आज सम्म देखेको छुईन । कहिलकांही भित्र खाना खाईरहेको समयमा नजर बाहिर दौडाउदा आंखाले किनहो रेलकिरा नै देख्दथ्यो । जब म डराउथे आमाले किरा चलाईदिनु हुन्थ्यो र त्यो गुजुल्टो पर्दथ्यो । बुवाआमाले आमगढीमा ल्याईदिएको छालाको जुत्ता खुब राम्रो थियो । आमाले लुगा धोएको देखेर मईले पनि एकदिन छालाको जुत्ता साबुनपानीले मिचि मिचि धोए । यसरी धोएकि त्यो जुत्ता फेरि लाउनै नपरोस । रामे मामाले त्यो देखेर भने आईन्दा यस्तो चकचक ग¥यौ भने तिम्रा जीउमा रेलकिरा खन्याईदिन्छु ।
एकपटक २६ जनवरीका दिन ५ वर्ष माथिका ससाना बच्चाहरुको दौड थियो । कार्यक्रममा पोष्ट ईन्चार्जको रुपमा आमा प्रमुख अतिथि हुनुहुंदो रहेछ । बच्चाहरुको दौडमा प्रथम भए, कुमारदाई र दोश्रो काले । आमाले कुमारदाईलाई पुरस्कार हस्तान्तरण गर्नुभयो । शायद बच्चालाई कुनै प्रतियोगिता जितेर आफ्नै आमाले पुरस्कार दिन पाउनु जस्तो सौभाग्य अरु के नै होला र जीवनमा । त्यसैले होला कुमारदाई अहिले पनि जीवनको हरदौड र प्रतियोगितामा प्रथम नै हुने गर्छन ।
पाहुनाको रुपमा आएको करेंत सांप एक रात हामी संग ओच्छयानमा सुतेको थियो । वर्षाको समय हावाहुण्डरी र पानी पर्नु स्वाभाविकै मानिन्छ । तर त्यो रात हावाहुण्डरी पूर्णरुपमा अस्वाभाविक लाग्दथ्यो । हुन त तुल्लीमा हामीले हावाहुण्डरीको सामना गर्न सिकिसकेका थियौ । खाट मुनि लुक्नु स्वाभाविकै मानिन्थ्यो । घर झिगिंटिको थियो, खरको छाना । बंगालको खाडिबाट आएको बेजोड हुरीबतासबाट बच्ने उपाय भनेको खाट मुनि लुक्नु सिवाय अरु केहि थिएन । एकदिन राती अचानक आकासको मुहार नराम्रो संग विग्रिएछ, विजुली चल्न थाल्यो, गड्याङगुडुङ गर्न थाल्यो । बुवा पेट्रोलिङ जानु भएको थियो, ७ दिनदेखि नै । पानी पर्न सकेन र हावाहुण्डरी चल्न शुरु ग¥यो । सधै झै हामी खाट मुनि छि¥यौ । लामो हुरीबतास पश्चात बल्ल पानी पर्यो, तर हात्तिसुडें पानी । खरको छानाले पानी छेक्न सकेन, पानीलाई बगाउन सकेन । बांसका टाटिमा लेसिएको माटो दर्के पानीको चुटाईबाट घायल भई आत्मासर्मपण गर्न थाल्यो । झिगिंटिको घरको कथा पहिलो पटक मलाई अनुभुती भो । घरमा माटोको भुईमा पानीको आहाल जम्यो, पानी बगेर खाट मुनि छताछुल्ल भो । हामी खाट मुनि रहेर पनि पानीको आहालमा डुब्यौ । हामीलाई त्यहांबाट निस्कने अनुमती थिएन । हावाहुण्डरीले छत उडाउछ भनेर आमाले छत अडाएको काठमा मोटो डोरी बांधेर रातभरी झुण्डिएर बस्नुभएछ । हुरीबतास थामिएर वर्षा नथामिएसम्म वहां छतलाई नै अंगालो मारेर बस्नु भएछ । हावाहुरी र पानी शान्त भए पछि आमाले मोटो डोरीलाई घरको बीच खांबामा बाध्नु भो र घरबाट पानी बगाउन शुरु गर्नु भयो । छत थाम्ने र भुई बडार्ने काममा वहांको सबै रात बित्यो केवल हाम्रा लागि । आमाको त्यो भुमिका देख्दा मलाई हिन्दी फिल्म मदर ईण्डियाको याद आउछ ।
त्यतिखेर रात पूर्णरुपमा शान्त भईसकेको थियो, जुन जस्तो मलिन भईसकेको थियो । हामी त खाट मुनि भुसुक्कै निदाएछौ । आमाले हामीलाई ओच्छयानमा सार्नु भो । म र कुमारदाई एउटै खाटमा सुत्यौ । भोली बिहान भएपछि घामले कोठा च्याउन थालेछ । आमा हामीलाई उठाउन आउनु भो । पहिला ओढाएको च्यादर हटाउनु भो । हाम्रो टाउको सिरानी देखि तल ओच्छयानमा सरेको रहेछ । सिरानीदेखि उंभो विस्ताराको कांपमा कालो सांप गुजुल्टिएर बसेको रहेछ । आमा आत्तिनु भो । चिच्चाउनु भो । आत्तिएर चिच्चाएर समस्याको हल नहुने रहेछ । वहां आत्माबलका साथ हामीलाई पालै पालो बोक्दै अर्को कोठमा सार्नु भो । अव वहां एक्लै कोठाभित्र छिर्नु भो । अचम्म सांप हलचल नगरी त्यहि पोजिशनमा बसेको रहेछ । अब के गर्ने ? कालो बुट्टे रंगको करेत सांप । त्यसमाथि करेत सांप अत्यन्त्तै विषालु । कति खेरदेखि सांप त्यहां बसेको हेक्का भएन । हामीसंग त्यो रात सांप संगै सुतेछ । करेत सांपले टोकेर तुल्ली र नगिनीमारामा मान्छेहरु मर्ने गरेको सुनिन्थ्यो । तै पनि किन नडसेको होला त्यो सांपले । कतै त्यो सांप भगवानको अवतार त थिएन । सांप कुमारदाईको टाउकोको छेउमा बसेको थियो । यदि त्यो सांपले डसेको भए कुमारदाई आज नेपाल सरकारको सचिव कहां हुनुहुन्थ्यो र ? शायद सांप र मान्छे बीच केही अन्तरसम्बन्ध हुंदो हो । रातको हावाहुण्डरी र वर्षातले रुझेर सांप न्यानो खोज्दै ओच्छयान खोज्दै हिडेको रहेछ । आमाले कोठाको ढोका बन्द गरिदिनु भो । हामीलाई उठाउनु भयो । हामी घर बाहिर निस्किएर झयालबाट सांप चियाउन खोज्यौ । घाम बाक्लिदै गएपछि सांप ओच्छयानमा चटपटाउन थाल्यो । हामी डरायौ, अब के हुन हो † कतै यो सांप उडेर आएर हामीलाई टोक्ने त होईन । सांप कोठाको झयालतर्फ अघि बढ्यो र सुलुल….झयालबाट बाहिर निस्कियो । मेरो मन शान्त भो तर जब म घर अगाडि फर्के, सातो पुत्लो उड्यो । पोखरी मैदान त सांच्चै पानीले टनाटन भरिएको रहेछ । माथि डांडाबाट हेर्दा पोखरी मैदान विचित्रको देखिन्थो, हिजोसम्म मईले त्यहां झाडिपोथ्रा, गहिरो खाडल अनि फाईरिंग स्थल देखेको थिए । पोखरीमा दुई जना व्यक्ति पोडि खेल्दै थिए । उनीहरु पौडि खेलेको देखेर विचित्र लाग्यो मलाई । कुमारदाई र म क्रमशः अघि बढ्यौ । हामीलाई पोखरी छेउ जान मन लाग्यो । हामी ओरालो झ¥यौ । जति जति ओरालो झर्दथ्यौ, त्यति त्यति पौडिबाजको आकृति ठुलो देखिन थाल्यो । कुमार दाईले भने उ हेर त रामे मामा होईन……….। अर्को चै चिन्न सकिएन । हामी अझै ओरालो झर्यौ । अब मईले रामे मामालाई राम्रैसंग चिन्न सक्ने भए । किन बौलाएका होलान यी मामाहरु, यस्तो वर्षाको भेलले बगाएको कालोमैलो पानीमा पौडि खेल्न । यिनीहरुलाई कस्तो डर पनि नभएको होला । डर पनि कसको लाग्ला र ? बुवा ७ दिनदेखि पेट्रोलिङ जानु भएको छ, पोष्ट कमाण्डर नभएपछि सिपाहिको पनि यो गति हुंदो रहेछ । अनायसै हाम्रो आंखा अगाडिको दृश्यमा गयो, हामी चकित भयौ । हामीसंग रात गुजारेको एउटै ओच्छयानमा सुतेको त्यहि कालो बुट्टे सांप मृत अवस्थामा थियो । यति चांडो मृत अवस्थामा यो सांप कसरी देखियो ? हामी एकाएक छक्क प¥यौ । कसैले भर्खरै मारेर हुराईदिएको हुनुपर्दछ । रात भरि जोगिएको सांप त्यहि पनि हाम्रो आश्रयमा विहान भएपछि शहिद भएछ ।………….घर गएपछि आमाले भन्नु भो ‘नरो बाबु यस्तै अर्को सांप ल्याईदिउंला, आमगुडीबाट । त्यसदिनदेखि हाम्रो त्यो घरमा पाहुना लाग्न कुनै सांप आएनन ।
तर सांप बनेर यादहरु सल्बलिरहे जीवनभर । त्यस्तै यादको पोको बोकेर करिब पांच महिना पछि सधैका लागि तुल्ली छाढ्दै हामी नगनिमोरातर्फ लाग्यौ ।
(समाप्त)
मिति २०७७ वैशाख १० गते
(साहित्यकार अशोक घिमिरेका कविता अध्यारोभित्रको उज्यालो र सामाजिक मौलक उपन्यास यशोधरा प्रकाशनको चरणमा रहेको छ । वहां हाल संस्मरण लेखनमा व्यस्त हुनुहुन्छ । वहां नेपाल टेलिभिजनमा कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)
FACEBOOK COMMENTS