काठमाडौं । कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्न लागि इटलीले पठाएका स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् (पीपीई) समावेश छन् । आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुल प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत महामहिम नोना डेप्रेले उक्त सामग्री नेपाललाई हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरिएको युरोपेली संघको नेपालस्थित कार्यलयले जनाएको छ । हस्तान्तरण कार्यक्रममा युरोपेली एकता दर्शाउन जर्मनी र फ्रान्सका राजदूतहरू पनि उपस्थित थिए । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले उक्त स्वास्थ्य उपकरण तथा सामग्री नेपाल पठाएको हो । यससँगै नेपाललाई स्वास्थ्य उपकरण तथा सामग्री पठाउने युरोपेली संघमा इटली १२ औं मुलुक बनेको छ । यसअघि स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन् । लिथुवेनिया र जर्मनीबाट थप सहयोग आउने अपेक्षा गरिएको युरोपेली संघले जनाएको छ । यी स्वास्थ्य सामग्रीले नेपाललाई कोभिड थप फैलिनबाट रोक्न सहयोग पुग्ने अपेक्षा दाताको छ ।
FACEBOOK COMMENTS