काठमाडौं – सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ देखि नाफामा गएको छ ।
झण्डै दुई देशकदेखि लगातार घाटामा रहेको विद्युत प्राधिकरण कुलमान घिसिङले कमाण्ड सम्हालको दोस्रो वर्षमा नाफामा गएको छ । कुलमानको प्रवेशपछि प्राधिकरणले नाफा मात्र गरेन मुलुकबाट लोडसेडिङको पनि अन्त्य गरेको छ ।
विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको जानकारी दिएको छ । कार्यकारी निर्देशक घिसिङले अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने बताएका छन् । गत आवमा प्राधिकरणको संचालन नाफा ७ अर्ब ८६ करोड रुपैयाँ छ ।
विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र नीजि क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वय लगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।
चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै ४ अर्ब रुपैयाँ थप आम्दानी भएको छ । गत वार्षिक उत्सवमा आव २०७३÷७४को प्राधिकरणको खूद नोक्सानी ९७ करोड ८९ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखा परीक्षणपछि खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ देखिएको थियो । प्राधिकरणको संचित नोक्सानी अझै २८ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
विद्युत प्राधिकरण गत आवमा विद्युत चुहावट नियन्त्रणको लक्ष्य पूरा गर्न सफल भएको छ । प्राधिकरणले गत आवमा प्रणालीमा रहेको २२.९० प्रतिशत विद्युत चुहावटलाई २०.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । गत आवमा विद्युत चुहावट २०।४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सवैभन्दा कम चुहावट हो ।
FACEBOOK COMMENTS