काठमाडौं, पुस २९ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रिक्त रहेको सिइओ पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्।बैंकमा रिक्त सिइओ पद पूर्ति गर्ने प्रयोजनार्थ पुस १० गते प्रकाशित भएको १५ दिनको पदपूर्ति सम्बन्धी विज्ञापनको सार्वजनिक सूचना बमोजिम प्राप्त आवेदनहरुबाट खतिवडालाई नियुक्त गरिएको हो।
सूचनामा उल्लेख भएका योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, विजनेश प्लान, विजनेश प्लानको प्रस्तुतिकरण एवं अन्तर्वार्ता समेतको मुल्यांकनबाट अन्य प्रतिस्पर्धीभन्दा बढी नम्बर ल्याएका उनलाई नियूक्त गरिएको बैंक संचालक समितिले जनाएको छ।
संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैंकको नियमावली बमोजिम मिति २०७७ माघ १ गतेदेखि लागू हुनेगरी बैंकको सिइओमा खतिवडालाई नियुक्त गरेको हो।
उनले एमबिएस, फाइनान्समा एमएस, सिएफए अध्ययन पुरा गरेका छन्। खतिवडाले हाल इन्फ्रास्ट्रक्चर फाइनान्समा विद्यावारिधि गरिरहेका छन्।
यसअघि एनआईविएल क्यापिटल मार्केट, एचआइडिसिएल, आइबिएनका विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव छ।
दीर्घकालिन स्रोत संकलन मार्फत देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले माघ २ गतेदेखि जारी पूँजीको ४० प्रतिशतले हुने ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर निष्काशन गर्ने भएको छ।
FACEBOOK COMMENTS