चन्द्र ढकाल नेपालका एक प्रतिष्ठित उद्योगपति एवम् व्यवसायी हुन । उनको जन्म एक सामान्य किसान परिवारमा २३ जुन १९६५ मा बाग्लुङ जिल्लामा भएको हो । बैंकिङ पेशामा लाग्दालाग्दै उनी हुँदा खादाको जागिर छाडेर व्यवसायमा होमिएका थिए । समय सापेक्ष नविन सोच, जीवनमा केही गर्ने हुटहुटी, इमान जमानको बोली व्यवहार र बन्धुत्वको भावनालाई आत्मसात गर्दै नविन शिराबाट जीवनलाई अघि बढाउने क्रममा ढकालले जागिरे जीवनलाई बिट मार्दै व्यवसायिक यात्राको थालनी गरेका थिए । जसको फल स्वरुप आईएमई अर्थात विप्रेषण कम्पनीको स्थापना हुन पुग्यो । समयलाई चिन्न सक्नु नै उनको जीवनको महानतम उपलब्धी बन्यो ।
जागिरे जीवन व्यथित गर्दा सिमित घेरा भित्रको चासो, चिन्ता र दायित्वको सिमामा बाँधिएर रहेका ढकाललाई आईएमईले स्वदेश र विदेशमा रहेका अधिकांश नेपालीसँग अटुट साईनो गाँसिदियो । त्यो व्यवसायिक सम्बन्धले देशवासी र राष्ट्रसँग चन्द ढकाल हालसम्म अटुट रुपमा जोडिएका छन् । आईएमईबाट शुरु भएको उनको व्यवसायिक यात्रा निकै अघिबढि सकेको छ । हाल उनी आईएमई ग्रुपका अध्यक्ष छन् । आईएमई ग्रुपले वित्त , पर्यटन, हाईड्रो, सुचना प्रविधि एवम् संचार लगायतका थुप्रै क्षेत्रमा अर्बौ लगानी गरेको छ । उनी ग्लोबल आईएमई बैंक लगायत थुप्रै कम्पनीका अध्यक्ष समेत छन् ।
यसरी उनी माथि धेरैको भरोषा र विश्वास गाँसिएको छ ।
उनी र उनका भाई हेमराज ढकालले आईएमईको स्थापना गरेर नेपालमा रेमिट्यान्स व्यवसायलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनी पेशागत वित्तीय आचरण र प्रशासनिक नैतिकता पालना गर्न दृढ देखिन्छन् । बैंक तथा वित्तीय संस्थाको मर्जर र अधिग्रहणको नयाँ मोडललाई प्रयोगमा ल्याई उनले नेपालको वित्त क्षेत्रमा अनुकरणिय कार्य गरेका छन् । उक्त मोडलको सफलताले उनको क्षमतालाई थप रुपमा उजागर गर्दछ । ढकालको दूरदर्शी नेतृत्वले आईएमई समूहलाई यसको सामान्य शुरुवातबाट द्रुत बृद्धि हुने समूहमा विकास गर्न योगदान पु¥याएको छ ।
आन्तरिक लगानी विस्तार गर्न र प्रत्यक्ष लगानी आकर्षित गर्न ढकालको नेतृत्वले विभिन्न व्यवसाय कक्षहरुमा सघाउ पुग्दै आएको पनि छ । नेपालमा व्यावसाय मैत्री वातावरण निर्माण गर्न उनको योगदान उत्तिकै महत्वपूर्ण छ । सार्वजनिक सम्बन्ध अन्तर्गत सरकारी र गैरसरकारी क्षेत्रहरू, कूटनीतिक र व्यवसायिक समुदाय बीचमा उनको निकै सौहार्दपूर्ण सम्बन्ध स्थापित छ । ढकालमा निहित जुझारुपना र शिष्ट बोलीबचनका कारण छोटो समयमा त्यो सम्भव भएको मान्न सकिन्छ । उनका अन्य थुप्रै सवल पक्षहरु पनि छन् ।
ढकाल सन् २०१० देखि नेपालका लागि इण्डोनेशिया गणतन्त्रको मानार्थ कन्सुलरको रूपमा सेवारत छन् । उनी देशको निजी क्षेत्रको शीर्ष निकाय नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष पनि हुन् । उनी नेपाल इण्डोनेशिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीका अध्यक्ष र नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इण्डष्ट्रीका उपसभापति पनि रहेका छन् । उनी प्रधानमन्त्रीको अध्यक्षतामा गठित नेपाल लगानी बोर्डको आमन्त्रित सदस्य पनि हुन ।
ढकाललाई नेपाल सरकारले प्रतिष्ठित तक्मा प्रबल जनसेवाश्री (चौथो) बाट शुशोभन गरेको छ । उनलाई गोरखा दक्षिण बाहु चौथोबाट पनि सम्मानित गरिएको छ । सफल निकासी अभियानका साथै उत्कृष्ट सेवा र सहयोगका लागि उनलाई विदेश मंत्रालय, इन्डोनेशिया गणराज्य सरकारले पनि सम्मानित गरेको थियो । त्यसैगरि उनी अन्य थुप्रै राष्ट्रिय एवम् अन्तराष्ट्रिय पुरस्कारबाट पनि पुरस्कृत भएका छन् । ढकाल संगको कुराकानी ः
महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिनुभएको छ, तपाईंको चुनावी कार्यक्रम कसरी अगाडि बढिरहेको छ ?
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा गएको चैतमै हुनुपर्ने थियो । तर, विश्वव्यापी बनेको कोभिड–१९ को जोखिमका र जारी लकडाउनका कारण उक्त मिति स¥यो । र, यसैका कारण पटक–पटक सर्दैसर्दै चैतबाट जेठ, जेठपछि साउन र साउनपछि यो मंसिरमा हुने तयारी भइरहेको छ ।
मंसिरमा पनि शुरूमा १० र ११ गते हुने भनिए पनि पछि १ दिन समेत थप गरेर मंसिर ११–१३ गतेका लागि साधारणसभाको मिति तय गरिएको छ । हाम्रो यो वार्षिक साधारणसभा चुनावी कार्यक्रमसहितको भएकाले मैले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।
र, मेरो टीममा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ हुनुहुन्छ । त्यसैगरी जिल्ला नगरको तर्फबाट गुणनिधि तिवारी र एशोसिएटबाट रामचन्द्र सांघाई हुनुहुन्छ । मैले के भन्न खोजेको हो भने वास्तवमा हाम्रो टीमचाहिँ एकदमै समावेशी छ ।
जस्तो हाम्रो टीमका गुणनिधि तिवारी धेरै पहिलादेखि सक्रिय हुनुहुन्छ । त्यस्तै उमेशलाल श्रेष्ठ म्यानुफ्याक्चरिङ खासगरी औषधि उद्योग चलाइरहनुभएको छ । त्यसैगरी रामचन्द्र सांघाई जो व्यावसायिक घराना सांघाई ग्रुपमा रहेर धेरै भन्दा धेरै व्यक्तिहरूलाई रोजगारी प्रदान गर्दै आएको व्यक्ति हुनुहुन्छ ।
त्यस्तै मेरो आफ्नो कुरा गर्नुहुन्छ भने पनि एकदमै सानो व्यवसायबाट शुरू गरेर अहिले एउटा कर्पोरेट तहमा व्यवसाय सञ्चालन गर्दै आएको छु र वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । यसले के देखाउँछ भने हाम्रो इन्टायर टीम समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्ने खालको छ ।
मलाई लाग्छ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनपछि निर्वाचित हुने हाम्रो टीमले नेपालको समग्र निजी क्षेत्रको प्रतिनिधित्व कुशलतापूर्वक गर्ने विश्वास म तपाईंको सञ्चारमाध्यममार्फत व्यक्त गर्न चाहान्छु ।
कोभिड–१९ का कारण हामी भर्चुअल रूपमा जुममार्फत साधारणसभा गर्न गइरहेका छौं भने निर्वाचनको कार्यक्रमचाहिँ नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड (प्रोटोकल) लाई अवलम्बन गरेर सम्पन्न गर्ने तयारी गरिएको छ । (यो नराख्दा नि हुनसक्छ)
टीममात्रै सवल भएर नेतृत्व सफल हुन्छ भन्ने छैन, एजेन्डाहरूचाहिँ के–के छन् तपाईंहरूका ?
खास गरेर नेपाल उद्योग वाणिज्य महासंघ आफैमा नेपालको निजी क्षेत्रहरूको प्रतिनिधिमुलक संस्था हो । यो संस्थामा नेतृत्व लिईरहने व्यक्ति वास्तवमा एउटा सानो व्यवसायदेखि एफडीआईको लेभलमा पनि लगानी भित्र्याउन सक्ने र रोजगारी सृजना गरेर राज्यलाई करमा योगदान गर्ने तहसम्मका हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
अहिले पनि लाखौंको संख्यामा नेपालीहरू रोजगारी खोज्दै विदेश गइरहेको अवस्था छ । वास्तवमा उनीहरूलाई नेपालमै रोजगारी सृजना गर्न सक्ने हो भने राज्यलाई निजी क्षेत्रको थप योगदान हुनेछ । त्यसका लागि सरकार तथा पोलिसी मेकरसँग लविङका लागि हामी सक्षम छौं र त्यो गर्छौं नै ।
हामीसँग धेरै समस्याहरू छन् । कतिपय पोलिसीहरू स्टेकहोल्डरहरूसँग छलफल नै नगरी आउने गरेका छन् । यी कुराहरूको निराकरणका लागि हामीले एउटा सवल र सक्षम टीम बनाएर अगाडि बढेका हौं । हाम्रो मुख्य प्राथमिकता भनेको कम्तीमा त्यस्ता पोलिसीहरू आउँदाखेरि स्टेकहोल्डर अर्थात् निजी क्षेत्रको संलग्नतामा मात्रै आओस्, ता कि त्यस्ता पोलिसीहरू तत्काल कार्यान्वयन हुन सकोस्, व्यवसायिक गतिविधि पनि बढोस्, रोजगारी पनि सृजना होस्, ट्याक्सको योगदान पनि होस् । यो हाम्रो मुख्य एजेन्डा र प्राथमिकता हो ।
अर्को कुरा हामीहरूको टीमले जस्तो एफडीआईको रूपमा नेपालमा भित्रिने लगानीलाई नेपालको हरेक भर्जिन एरियामा लगानी गर्ने वातावरण तयार पार्न पनि हामीले मुख्य भूमिका खेल्नेछौं । भर्जिन एरियामा लगानी प्रवद्र्धन गर्न र गराउन हाम्रो नेतृत्वले सरकार र नियामक निकायहरूसँग बसेर काम गर्नेछ । जसले विकासबाट पछाडि परेको क्षेत्रलाई अगाडि बढाउन पनि मद्दत पु¥याओस् । समग्रमा हाम्रा एजेन्डा यिनै हुन् ।
तपाईंहरू आ–आफ्नो टीम निर्माण गरेर निर्वाचनमा होमिईसक्नुभएको छ, तथापि पनि सहमतिका साथ नेतृत्व चयन गर्ने विषय भने सेलाएको छैन । कत्तिको सम्भावना छ ?
सहमतिको सम्भावाना अन्तिमसम्म जिवितै रहने छ । मेरो कुरा गर्दा पनि म नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गरिरहँदा कार्यसमितिका रूपमा म निर्विरोध नै प्रवेश गरेको हुँ । भोटिङ हुँदा पनि सबैभन्दा बढी मत प्राप्त गरेर जितेको छु । अघिल्लो कार्यकालमा पनि म निर्विरोध रूपमा उपाध्यक्ष चयन भएको हुँ । मलाई लाग्छ यो वर्ष पनि इतिहास दाहोरिन सक्छ । यो कुरामा म पूर्ण विश्वस्त पनि छु । यदि सहमति नभई निर्वाचनमै जाँदा पनि राम्रो मतान्तरले म र मेरो टीम निर्वाचित हुने कुरामा मलाई द्विविधा छैन ।
वास्तवमा तपाईंहरू मनोनयन हुनुअगाडिदेखि नै चुनावी प्रचारका लागि देशदौडाहामा हुनुहुन्छ, तपाईंको पक्षमा मतदाताको माहोल कस्तो छ ?
प्रचार–प्रसारको क्रममा भन्दा पनि मेरोचाहिँ देशको ७७ वटै देशमा व्यावसायिक नेटवर्क छ । प्रचार–प्रसारको क्रमभन्दा अगाडि पनि म सबै जिल्लाहरूमा पुगेको छु । जिल्लामा धेरैजसो उद्योगी व्यवसायीहरूसँग मैले पार्टनरशीपको रूपमा काम समेत गर्दै आएकाले उहाँहरूसँग मेरो नियमित सम्बन्ध र सम्पर्क भई नै रहेको हुन्छ । यसले पनि जिल्ला तथा नगरका साथीहरूसँग मेरो सम्बन्ध बलियो बनाएको छ ।
त्यसले गर्दा पनि मैले छोटो समय (४ दिनमा) ५ वटा प्रदेशका सबै अग्रज तथा साथीहरूसँग भेटघाट गरेर आएका छु । अब दुई वटा प्रदेशमा हामी पुग्न बाँकी छ । मलाई लाग्छ, १ र २ नम्बर प्रदेशको पनि अब हामी चाँडै भ्रमण गरी त्यहाँका साथीहरूसँग प्रत्यक्ष भेट गर्ने छौं ।
यसरी हेर्दा सबै जिल्लाका उद्योगी व्यवसायीहरू म र मेरो टीमप्रति अत्यन्तै उत्साही रहेको मैले पाएको छु । कोभिड–१९ यत्तिको त्रासमा पनि स्वास्थ्य सुरक्षामा मापदण्ड पालना गरेर, कार्यक्रमहरूमा सहभागी भएर मेरा लागि उहाँहरूले आफ्नो समर्थन र उत्साह प्रकट गर्नुभएको छ ।
मतदातामा केही अपिल गर्न चाहानुहुन्छ कि ?
मैले अगाडि पनि भनिसकेँ कि म सानो व्यवसायबाट यात्रा शुरू गरेर संघर्षहरूका साथ अहिले कर्पोरेट लेभलको व्यवसाय सञ्चालन गर्ने तहमा पुगेका छु । त्यसकारण मैले विभिन्न तहका व्यवसाय सञ्चालनमा आउने समस्याहरूका बारेमा सहजै अनुभूत गर्न र मर्म बुझ्न सक्दछु । यसर्थ नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि म उपयुक्त पात्र हुँ भन्ने मेरो दाबी छ ।
यसका लागि मेरो दाबीले मात्रै पुग्दैन आम मतदाताको मत चाहिन्छ । त्यसकारण भावी नेतृत्वका लागि निजी क्षेत्रको प्रतिनिधित्व र नेतृत्व गर्न सक्ने ‘रियल स्टेकहोल्डर’लाई अत्यधिक मतका साथ निर्वाचित गराउनुहुनेछ भन्ने विश्वास मैले बोकेको छु, यही अनुरोध सबैसँग गर्दछु ।
FACEBOOK COMMENTS