काठमाडौं, असोज १४ – विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ल्याएको डेढ घण्टा वित्न नपाउँदै एकजना कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ ।सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको बुधबार मृत्यु भएको उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसिन डा. दीपक सिग्देलले जानकारी दिए ।
उनका अनुसार कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजे कोशी कोभिड अस्पताल ल्याइएको थियो । चिन्ताजनक अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि बचाउन नसकिएको डा. सिग्देलले बताए ।
उनका अनुसार वृद्धको मृत्यु १२:३५ बजेतिर भएको हो । श्वास फेर्न गाह्रो हुने बाहेक वृद्धमा स्वास्थ्य सम्बन्धी अरु पुरानो समस्या केही पनि नदेखिएको सिग्देलले बताए । बुधबार बिहानबाट मात्रै विराटनगरमा उपचाररतमध्ये तीनजना संक्रमितको मृत्यु भइसकेको छ । कोशी कोभिडमै उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय संक्रमित पुरुषको बिहान ४ बजेतिर मृत्यु भएको थियो ।
त्यस्तै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका सुनसरीको हरिनगरा–२ का ५० वर्षीय संक्रमित पुरुषको पनि उपचारकै क्रममा बिहान ७ः३० बजेतिर मृत्यु भयो ।
FACEBOOK COMMENTS