उपचार नपाएर धनुषामा एक युवकको ज्यान गएको छ। सबैला नगरपालिका-२ का प्रमोद कुमार महतोको बुधवार साँझ ज्यान गएको हो। उनी मृगौलाका बिरामी थिए। लामो समयदेखि डायलासिस गराउँदै आएका थिए। मंगलबार पनि उनी प्रादेशिक अस्पताल जनकपुरमा डायलासिस गराउन पुगेका थिए। तर, डाक्टरले समय अभाव देखाउँदै उनलाई फर्काएका थिए।
अस्पतालबाट बाहिरिँदा उनी जिब्रो निकालेर जोर जोरले चिच्याइरहेका थिए। अस्पतालबाट उपचार नपाएर फर्किरहेको २४ घण्टा नबित्दै उनको मृत्यु भएको हो। उपचार नपाएर अस्पतालबाट छट्पटिँदै बाहिर निस्किरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। कोरोनाको कहरमा कतै पनि उपचार नपाएपछि छटपटिएर प्रमोदले मृत्युवरण गर्नुपरेको सबैला घर भएका बिपी साहले बताए।
डायलासिसका लागि सांसददेखि अस्पतालका मेसुलगायत कैयौंसँग गुहार मागे पनि मद्दत नपाएपछि प्रमोदले ज्यान गुमाउनु परेको उनको भनाई छ। उपचार नपाएर प्रमोदले ज्यान गुमाएपछि प्रदेश सरकारको व्यापक आलोचना भइरहेको छ। प्रदेश सरकारको मातहतमा आइसकेको प्रादेशिक अस्पतालमा प्रशासन र डाक्टरले चरम लापरबाही गरिरहेको सर्वसाधारणको आरोप छ।
FACEBOOK COMMENTS