काठमाडौं, असोज २६ – काठमाडौं उपत्याकामा पछिल्लो केहि दिनदेखि कोरोना भाइरसका संक्रमित बढेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु तातेका छन् । नेपालीको प्रमुख चाड दशैंतिहार मुखैमा रहेको र संक्रमितहरूको संख्या व्यापक रूपमा बढिरहेको अवस्थामा धेरैमा अबको सरकारी कदम के हुन्छ भन्ने विषयमा व्यापक चासोका विषय बनिरहेको छ ।
अधिकारीहरूले काठमाण्डौं उपत्यका हकमा चुनौतीमा आइसोलेशन वार्डहरू र कोभिड टेष्टका मात्रा बढाउने तर्क गरिरहेका छन् । अस्पतालहरुमा अहिले वेडहरु नपाउने र सामान्य विरामी हुँदा समेत अस्पतालले भर्ना नलिने अबस्था आइरहेको छ ।
अहिले उपत्यकाका तीन जिल्लाका अधिकारीहरू भने स्थानीय निकायसँगको सहकार्यमा कोभिडको संक्रमण बढिरहेका बेलामा कसरी व्यवस्थापन गर्ने भन्नेमा लागिरहेको बताएका छन् । काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक भर्चुअली भएपनि बसिरहेको र निषेधाज्ञा वा लकडाउनका विषयमा भने छलफल केन्द्रित नभएको काठमाडौं जिल्ला प्रमुख जनकराज दाहाल बताउँछन् ।
उनले भने, ‘सार्वजनिक सेवाका क्षेत्रमा पनि व्यापक रुपमा कोरोना संक्रमण फैलिरहेकाले सेवाका क्षेत्रहरुलाई स्क्रिनिङ गर्ने विषयमा स्थानीय नियकासँग छलफल भइरहेको छ ।’ अत्यावश्यक सेवा मात्रै सञ्चालनमा राखेर अरू सेवा केहि समयलाई स्थगन गर्ने हो कि भन्ने विषयमा पनि छलफल भइरहेको उनलेब बताए । उनले भने, ‘अत्यावश्यक सेवाका क्षेत्रहरु बाहेक जस्तै सस्था दर्ता,नविकरण, घरजग्गा विक्रि लगायतका क्षेत्रलाई केहि समयका लागि स्थगन गर्न समेत स्थानीय निकायहरुसँग बहस भइरहेको छ ।’
लकडाउन क्षेत्रगत रूपमा पनि गर्न सकिने गृहमन्त्रालयले नै बताइसकेकाले त्यो जिल्ला प्रसाशनको क्षेत्रभन्दा बाहिरको विषय भएको उनले बताए । उनले भने, ‘स्वास्थ्यमन्त्रालयले त फेरि लकडाउन नै गर्न पर्छ भनेर भनिनै सकेको छ । त्यो भनेको कुनै वडा वा टोलको अवस्था हेरेर प्रतिबन्धात्मक व्यवस्था कायम गर्ने सम्मको हुन सक्छ ।’
सरोकारवालाहरूसँग परामर्श भइरहेको र अबको केही दिनमा यस विषयमा स्पष्ट पार्न सकिने अवस्था हुने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट जानकारी दिए । उनले भने, ‘तीन वटै जिल्लाका प्रमुखहरु र स्थानीय नियकाबीचमा छलफल चलिरहेको छ केहि विषयहरुमा गृह कार्य पनि भइरहेको छ केहि दिनमा यसलाई हामी टुंगोमा पुर्याउछौं । ’
उता भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकार हुमकला पाण्डेल भने दैनिक जसो स्थानीय निकायहरुसँगको सहकार्यमा चाडबाडका बेला सुरक्षा बजारमा भिडभाड हुन नदिने लगायतका अन्य विभिन्न विषयबारे प्रबन्ध गर्नुपर्ने हुँदा आफूहरू निरन्तर सम्पर्कमा रहेको बताइन ।
FACEBOOK COMMENTS