खसी मासुमा मात्रै प्रयोग हुन्छ । यसको घरमा ५०, बिक्री केन्द्रमा २ सय र मासु पसलमा १ सय ५० रुपैयाँ कर तिर्नुपर्छ । नगरपालिकालाई एउटा खसीको कर मात्रै ४ सय रुपैयाँ बुझाउनु निकै नै महँगो भएको फुङलिङ नगरपालिकाका किसान बताउँछन् । नगरपालिकाले घरमा पालेका कुखुरा हाँसदेखि यसैको मासुसम्मलाई कर लगाएको छ । अनुसूची ६ को दफा ७ सँग सम्बन्धित जीवजन्तु करमा गाई, भैंसी र चौंरी प्रत्येकको २ सय ५० रुपैयाँ उल्लेख छ । यिनको पाडो, बाच्छो, बछेडोको २ सय रुपैयाँ छ । बाख्रा, भेडा, सुँगुरको ५०, पाठा, पाठीको २० र कुखुरा, हाँसको १० रुपैयाँ लगाइएको छ । यिनैलाई सदरमुकामको हाटमा ल्याएर बिक्री गरे हाँस, कुखुराको ३०, परेवाको १५, खसी, बोका, भेडा, च्याङ्ग्रा प्रतिगोटा २ सय, यिनका पाठापाठीलाई एक सय रुपैयाँ कर लगाइएको छ । माछा, मासु बिक्री गर्ने पसलले १ सय, सुँगुर, खसीको १ सय ५० र राँगाको मासु पसलले २ सय रुपैयाँ कर तिर्नुपर्छ ।
सदरमुकामको हाटमा भुइँमा सामान फिंजाएर बस्ने र डोकामा सामान ल्याएर बिक्री गर्नेले पनि २० रुपैयाँ कर बुझाउनुपर्छ । दुईचक्के ठेलामा बिस्कुट, सामान बिक्री गर्नेले ३० र चारचक्केमा बिक्री गर्नेले दैनिक ७५ रुपैयाँ कर बुझाउनुपर्छ । चटपटे बिक्री गर्नेले पनि ७५ रुपैयाँ बुझाउनुपर्छ ।
सरकारी जग्गामा बस्नेलाई कर
नगरपालिकाले सरकारी जग्गामा घर बनाएर बसेकालाई कर तोकेको छ । पाथीभरा क्षेत्रको देउरालीदेखि माथिल्लो फेदीसम्मका बस्तीलाई २५ हजारसम्म कर लगाइएको छ । ठूलो फेदीका व्यवसायीलाई प्रतिघर २५ हजार रुपैयाँ तोकिएको छ । काफ्लेपार्टीकालाई भने ९ हजार तोकिएको छ । सबैभन्दा कम तेस्रो क्षेत्रमा ५ सय रुपैयाँ छ । यो क्षेत्रका अधिकांश व्यवसायी सामुदायिक वन क्षेत्रमा घर बनाएर बसेका छन् । नगरपालिकाले यो करबाट उक्त जमिनको सरकारी स्वामित्वमा कुनै फरक नपर्ने उल्लेख छ । सम्बन्धित निकायले घर व्यवसाय हटाएमा सोहीबमोजिम मान्य हुने उल्लेख छ ।
फोहोरमैला करमा असन्तुष्टि
सदरमुकामका बासिन्दाले फोहोरमैला व्यवस्थापन शुल्कमा असन्तुष्टि जनाएका छन् । नेकपा कार्यालय सचिव राजेश प्याकुरेलले फोहोरमैला व्यवस्थापनलाई गरिखाने भाँडो बनाउन नहुने बताए । फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, पैसा पनि तिर्नुपर्ने तर सही ढंगले गरे मात्रै असल सरकारको परिचय हुने उनको दाबी छ । जनताको ढाड सेक्ने काम गरे जनता चुप लागेर नबस्ने प्याकुरेलको चुनौती छ । फोहोरमैला व्यवस्थापन शुल्क १ सय ५० देखि २ हजारसम्म तोकिएको छ । साधारण पसललाई सबैभन्दा कम र अस्पताललाई सबैभन्दा बढी छ । साधारण निवेदन दिनेले पनि २५ रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ । मुद्दासम्बन्धी, सम्बन्धविच्छेद, साँधसिमाना, कोठाखाली गराइपाउने निवेदनका लागि १ सय २५ रुपैयाँ बुझाउनुपर्छ । मिलापत्र अर्थात् सहमति गराइदिएबापत छ सय रुपैयाँ बुझाउनुपर्छ । वंशजको नागरिकतासम्बन्धी सिफारिस भने नि:शुल्क गरिएको छ ।
घुम्ती व्यापार गर्ने पोके व्यापारीलाई नगरपालिकाले प्रतिदिन २ सय र गाडीमा गर्ने घुम्ती व्यापारीलाई २ हजारसम्म पटके कर लगाइएको छ । स्थानीय सवारी साधनले एक बाटोको अनुमति शुल्क १३ हजार बुझाउनुपर्ने उल्लेख छ । बहुबाटो थप अनुमतिका लागि ६ हजार र पटके इजाजतका लागि १ सय रुपैयाँ बुझाउनुपर्नेछ । निवेदन दस्तुर मात्रै ५ सय रुपैयाँ तोकिएको छ । रूखको निकासी तथा कटानी गर्नेले एउटा रूखको २ सय रुपैयाँ बुझाउनुपर्ने भएको छ
।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS