काठमाडौं,चैत १३ – लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले जनताको स्वास्थ्य तथा सुरक्षाका लागि खटिएका राष्ट्रसेवक कर्मचारी तथा स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षालाई सरकारले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका छन् । कोभिड- १९ को महामारीको अवस्थामा आफ्नो भन्दा सर्वसाधरण जनताको हितलाई सर्वपरि ठानी काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका कर्मचारीलाई तत्काल पिपिई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा लक्ष्मी ग्रुपकले एक करोड सहयोग गर्ने घोषणा गरेको छ । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ आज नै सो रकम हस्तान्तरण गर्ने जनाएका छन् । उनले भने – ‘हाम्रो समुहले पनि सरकारलाई एक करोड दिने घोषणा गरेका छौं, संभवत आवतजावतका लागि पास उपलब्ध भएको खण्डमा आजै सो रकम हामी सरकारलाई हस्तान्तरण गछौं । ‘
निर्देशक श्रेष्ठले लक्ष्मी ग्रुपले पाँच वटा फिभर क्लिनीक स्थापना गरिदिने जानकारी दिए । उनले पाटन अस्पताल , गण्डकी क्षेत्रिय अस्पताल, पोखरा र अन्य काठमाडौंमा अस्पतालहरुमा फिभर क्लिनीक स्थापना गरिदिने जनाएका छन् ।
कोरोना भाइरसका कारण उत्पन्न हालको अवस्थामा निजी क्षेत्र तथा व्यवसायीहरुले के गरिरहेका छन् ? यस्तो अवस्थामा निजी क्षेत्रको भूमिका कस्तो छ ? भनी कर्पोरेट खबरकी सह- सम्पादकले लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठसँग गरेको छोटो कुराकानी :
सरकारले एक हप्ताका लागि देश लकडाउन गरेको छ । यो समयमा के गरिरहनु भएको छ ?
सरकारको कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि चालेको यो कदमको प्रशंसनिय छ । यो समयमा संयमित भएर घरमा बस्नु उपयुक्त हो र म पनि घरमै बसेर सरकारको आदेशको पालना गरिरहेको छु । यो समयमा विहान उठ्ने शारीरिक व्यायाम गर्ने, योगा गर्ने गरेको छु । काम नभएर घरमा बसेपछि शारीरिक कसरत कम हुने भएकाले खानाको मात्रा पनि घटाएको छु । पहिले तीन पटक खान्थे भने अहिले दुई पटक मात्र खान्छु । दिउँसो पुस्तक पढ्ने, टेलिभिजन हेर्ने गरेर नै दिन बितेको छ ।
एक व्यवसायीको रुपमा देशको अवस्थालाई कसरी नियाली रहनुभएको छ ?
कोरोेना भाइरसका कारण देश मात्र होइन् विश्व नै आक्रान्त बनेको छ । यो परिस्थितीले कस्तो रुप लिन्छ भनेर आकंलन नै गर्न सक्ने अवस्था छैन् । विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, इटाली, स्पेन, फ्रान्स, भारत लगायत राष्ट्रहरुलाई समेत असाहाय बनाएको यो रोगसँग बच्न संयमित भएर घरमा बस्नु नै उक्तम उपाय हो । घरमा बसेर आफु पनि स्वस्थ रहने र देशलाई पनि स्व्स्थ राख्नुनै प्रत्यक नागरिकको जिम्मेवारी हो ।
सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजनाहरु घोषणा गर्नुका साथै तयारी पनि गरिरहेको छ । सरकारले गरेका तयारीहरु पर्याप्त छन् ?
कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेका योजनाहरु स्वागत योग्य छन् तर त्यती हुदाँहुदैं पनि केहि कमी भने पक्कै देखिएको छ । स्वास्थ्यकर्मीलाई पीपीईको अभाव छ भन्ने सुनिएको छ । सरकारले सर्वप्रथम डाक्टर तथा नर्सहरुको सुरक्षाका लागि पीपीई उपलब्ध गराई उनीहरुको मनोवल उच्च राख्न अवश्यक छ । स्वास्थ्यकर्मी नै संक्रमित भएको खण्डमा अन्य संक्रमितको उपचार कस्ले गर्छ ? यस तर्फ सरकारको ध्यान जान जरुरी छ । त्यसै गरी परिक्षण किटको पनि सहज उपलब्धता हुनु प¥यो । सरकारले कोरोना उपचारका लागि एकलाख बेड पुर्याउने भनेको छ त्यो एकदमै राम्रो हो ।
देश संकटमा परेको अवस्था छ । यो अवस्थामा निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्दछ ?
सरकारले आवहान गरेको लकडाउनलाई निजी क्षेत्रले पूर्णरुपमा सहयोग गरेको छ । अहिले अत्यावश्यक सेवा र खाद्यन्न बाहेक अन्य उद्योगधन्दा तथा व्यापार बन्द नै रहेको छ । निजी क्षेत्रले सधै सरकारको निर्णयको पालना तथा आवश्यक परेको खण्डमा सहयोग र हातेमालो पनि गर्दै आइरहेको छ र आगामी दिनमा पनि गर्ने नै छ । निजी क्षेत्रले खाद्यसामग्रीको ढुवानी तथा वितरणमा गरिरहेको छ । यसलाई सहज बनाउन सरकारले आवश्यक परेका ठाँउमा पासको व्यवस्था गरिदिनु पर्दछ ।
साथै निजी क्षेत्रले सरकारलाई केहि सहयोग गर्ने उद्देश्यका साथ सरकारले कोरोेना रोकथामका लागि स्थापना गरेको कोरोेना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग पनि गरिरहेका छन् । हाम्रो ग्रुपबाट पनि यस कोषमा एक करोड दिने घोषणा गरेका छौं । संभवत सो रकम हामीले आज नै सरकारलाई हस्तान्तरण गछौं । यसले सरकारलाई स्वास्थ्य सामग्री खरिदका लागि केहि भएपनि सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।
सरकारलाई सहयोगको आवश्यकता परेको समयमा निजी क्षेत्र सधै सहयोगका लागि तत्पर छ, थियो र रहनेछौं ।
FACEBOOK COMMENTS