काठमाडौं, असोज २७ – सरकारले शुल्क लिएर कोरोना भाइरसको ‘एन्टिजेन’ परीक्षण गर्ने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षण गरेबापत एक हजार शुल्क लाग्ने जानकारी दिए।
उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरूले मात्र एन्टिजेन परीक्षण गर्न पाउने बताए।
यसरी प्रयोगशालाहरूले परीक्षण गरेपछि पोजेटिभ नतिजा आए इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराउने भनिएको छ।
साथै नतिजा नेगेटिभ आए सम्बन्धित व्यक्तिहरूलाई नै जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ। निकै छिटो समयमा यसले परीक्षणको नतिजा दिए पनि यसलाई कतिपय विज्ञहरूले विश्वसनीयता नभएको भन्दै प्रयोग नगर्न सुझाउँदै आएको छ।
एन्टिजेन विधिबाट परीक्षण गर्दा भाइरस समात्ने सम्भावना निकै कम हुने भन्दै विज्ञहरूले यसको प्रयोग गर्नु घातक हुनसक्ने औंल्याएका हुन्।
भाइरोलोजिष्ट डा. लुना भट्टले एन्टिजेन टेस्टले भाइरसको निश्चित विन्दुलाई समात्ने सम्भावना निकै कम रहेको बताउँछिन्। जसले गर्दा पोजेटिभ नतिजाहरू पनि नेगेटिभ देखाइदिने उनको तर्क छ।
FACEBOOK COMMENTS