काठमाडौं, वैशाख १० – गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब रूपैयाँ पूँजी भएको एनआरएनए डेभलपमेन्ट फन्डले पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने बताएका छन् । उनले बैंकमा पैसा राखेर ब्याज आम्दानीबाट नभइ पूर्वाधारमा लगानी गरेरै लगानीकर्तालाई प्रतिफल दिने विश्वास व्यक्त गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको साप्ताहिक अर्थ संवादमा अध्यक्ष पन्तले बैंकबाट ब्याज खाएर नभइ पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको स्पष्ट पारेका हुन् ।
पूर्वाधार तथा उत्पादनशीललगायत क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पूँजी भएको एनआरएनए नेपाल डेभलमेन्ट फन्डको स्थापना गरिएको छ । फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुने छ ।
गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै कोषको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने फण्डको योजना छ । जसअनुसार ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) ल्याउने छ । संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरेको हो जसका लागि नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरी संकलन गरिने संघका अध्यक्ष कुमार पन्तले बताए ।
आईपीओ सार्क मुलुक बाहेकका गैरआवसीय नेपालीले मात्रै खरीद गर्न पाउने छन् । ‘यो एनआरएनहरुको लगानी हो, अहिलेसम्म हामीसँग १७० वटा परियोजनाका प्रस्ताव आएको छ, अबको ५–७ सातामै परियोजना शुरू हुन्छ,’ उनले भने, ‘संकलित लगानीलाई बैंकमा राखेर ब्याज लिएर आम्दानी गर्ने होइन, पूर्वाधारमा सदुपयोग हुन्छ ।’
संघले पारम्भिक अवधिमा १० अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएर लगानी गर्ने र १ वर्षभित्रै लगानीलाई १ खर्ब पुर्याउने लक्ष्य राखेको छ । परियोजनामा १० लाख गैरआवासीय नेपालीको लगानी रहने बताइएको छ ।
१० लाख एनआरएनबाट संकलित १० अर्ब रुपैयाँ कृषि, पर्यटन र पूर्वाधार कै क्षेत्रमा लगानी गरिने बताइएको छ ।
२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो ।
कोषमा केही वर्षमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्याउने संघको योजना छ ।
नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानीसहित गैरआवासीय नेपाली प्रबर्द्धक रहेको कम्पनीमा साढे २ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानी प्राप्त भइसकेको छ । पन्तले भने, ‘संस्थापक एनआरएनहरुले २ अर्ब ५१ करोड रुपैयाँ नेपाल पठाइ सकेका छन् ।’
FACEBOOK COMMENTS