काठमाडौं, चैत २१ – ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता पहिलो खेलमा प्रदेश-१ ले नेपाल एपिएफ क्लबलाई १ सय ७ रनको मध्यम लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६ रन बनायो ।
प्रदेश-१ की कप्तान रुविना क्षेत्री बेलबासे ४८ बलमा ६ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिईन् । युवा ब्याटर रोमा थापाले ४२ बलमा ५ चौका सहित ३३ रनमा क्याच आउट भईन् ।
तेस्रो विकेटका लागि रोमा र रुविनाले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । पहिलो ओभरको तेस्रो बलमा मध्यगतिकी बलर रेखा रावलले ओपनर अप्सरी बेगमलाई शून्यमा बोल्ड आउट गरिन् । दोस्रो विकेटका लागि रुविनाले विकेटकिपर काजल श्रेष्ठसँग ६ ओभरमा २६ रनको साझेदारी गरेकी थिईन् ।
कप्तान सीता राना मगरले १७ औं ओभरको चौथो बलमा रुविना अघि बढेर ठूलो सट खेल्ने धुनमा बल मिस गर्न पुगेपछि विकेटकिपर ज्योती पाण्डेले स्टम्पिङ आउट गरेकी थिइन् ।
स्पिनर करुणा भण्डारीले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । रेखा रावल, बिनु बुढामगर र सीता रानामगरले १–१ विकेट लिइन् । एपिएफले कुल ८ बलरलाई बलिङ गराएको थियो ।
FACEBOOK COMMENTS