काठमाडौं, माघ १७ – हरि चौहानको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) लाई २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका कप्तान शरद भेषावकरले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।
त्यसपछि ब्याटिङमा आएको आर्मीले मध्यम सुरूवात गरेको थियो। किशोर महतो र अबिनाश बोहोराले लगातार दुई विकेट लिएपछि आर्मी दबाबमा परेको थियो। त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको हो।
सुशन भारी १३ र अनिलकुमार मण्डल ११ रन बनाएर आउट भए। लगत्तै भिम सार्की ७ रन बनाएर आउट भए।
त्यसपछि हरि चौहान र रोहितकुमार पौडेलले आर्मीको इनिङ सम्हाल्ने प्रयास गरे। दुईजनाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे। रोहितकुमार १३ रन बनाएर आउट भए।
हरिले कप्तान बिनोद भण्डारीसँग पाँचौं विकेटका लागि १९ रनको साझेदारी गरे। बिनोद ७ रन बनाएर आउट भए।
बिनोद आउट भएपछि हरिले राजेश पुलामीमगरसँग छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरे। राजेश २८ रन बनाएर आउट भए। लोकेश बमले १५ रन बनाए। बिक्रम सोबले ११ र शाहब आलमले २५ रन बनाए।
एपीएफका लागि अबिनाश बोहोराले चार विकेट लिए। अबिनाशले १० ओभरमा दुई मेडनसहित २५ रन दिएर चार विकेट लिए। किशोर महतोले दुई विकेट लिए। कमलसिंह ऐरि, शरद भेषावकर, भुवन कार्कीको नाम एक/एक विकेट रह्यो।
त्रिभुवन आर्मी क्लबको यो लगातार चौथो फाइनल खेल हो। एपीएफ भने दोस्रो पटक उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ।
जारी संस्करणको समूहचरणमा एपीएफले आर्मीलाई ६ रनले पराजित गरेको थियो। त्यस्तै दोस्रो संस्करणको फाइनलमा पनि एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो।
त्रिभुवन आर्मी त्यही हारको बदला लिने लक्ष्यमा छ। एपीएफ भने दोस्रोपटक उपाधि उचाल्ने लक्ष्यमा छ।
FACEBOOK COMMENTS