काठमाडौं, पुस २८ – विमानस्थलमा यात्रुहरुलाई हवाइजहाजसम्म र जहाजबाट ट्रमिनल भवनसम्म पुर्याउने र्याम्प बसलाई बिजुली बसले प्रतिस्थापन गर्ने तयारी थालिएको छ।
यो विषयमा नागरिक उड्डयन प्राधिकरणले गत पुस २० गते बसेको बैठकमा जानकारी गराएको वायुसेवा संचालक संघले जनाएको छ।
यो योजना अन्तर्गत र्याम बसहरुको प्रदुषण नाप जाँच, हरेक सवारीको सिट सङ्ख्या, खरीद भएको वर्ष, सवारीको प्रकार आदी सम्पूर्ण विवरण खुलाई नागरिक उड्डयन कार्यालयमा पठाउन सबै वायु सेवा प्रदायकलाई पत्राचार गरिएकोमा आफूहरुको ध्यानाकर्षण भएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
एयरपोर्टको वातावरण स्वच्छ राख्ने कुरामा दुईमत नभएपनि हाल वायुसेवा संचालक महंगो विजुलीबस खरीद गर्नसक्ने स्थितीमा नभएको सघंले जनाएको छ।
कोभिड महामारीको कारण ६ महिनामा १७ अर्व ५० करोड भन्दा धेरै आम्दानी गुमाएको अवस्थामा वायुसेवा संचालकलाई करोडौको विद्युतीय सवारी साधनको भार बोकाउन न्यायोचित नहुने विज्ञप्तीमा उल्लेख छ।
हाल एयरपोर्टमा ३० वटा र्याम बस रहेका छन्। यी बसहरुलाई बिजुली बसले प्रतिस्थापन गर्दा वायु सेवा प्रदायकले कम्तीमा ४५ करोड खर्च लगानी गर्नुपर्नेछ।
FACEBOOK COMMENTS