काठमाडौं, चैत ४ – डा. सुन्दरमणि दिक्षितले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने नेतृत्वको खाँचो रहेको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले मुलुकमा मधेस तराई र पहाडलाई एकीकृत गर्दे मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्षम नेतृत्व महन्थ ठाकुर भएको भन्दै उनको नेतृत्वलाई मानेर मुलुकलाई निकास दिनुपर्ने बताएका हुन् ।
नेपाली कांग्रेस सरकारमा जाने नभई पार्टीलाई मजबुत बनाएर जानुपर्ने तर्क उनले गरे । उनले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत लिन वा सदासयता देखाएर सरकारको नेतृत्व चयनमा सहयोग गर्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले वर्तमान समयमा नेता र नेतृत्वको संकट देखापरेको बताए । उनले नेतृत्वले पार्टीभित्रको अन्तरविरोध समाधान गर्न सक्नुपर्नेमा त्यसो हुन नसकेका कारण मुलुक संकटमा परेको बताए ।
पार्टी विभाजन हुनु दुःखद कुरा भएको भन्दै उनले पार्टीभित्र उत्पन्न अन्तरविरोधलाई जिम्मेवार नेताले समाधान गर्नुपर्ने धारणा राखे । जनताले ५ वर्ष सरकार सञ्चालन गर भनेर पठाएपछि आन्तरिक अन्तरविरोध समाधान नगरेर जनप्रतिनिधि संस्था विघटन गर्ने प्रधानमन्त्री ओलीमा असल नेतृत्वको गुण नभएकाले आफूले नेता मान्न नसक्ने नेता शर्माले स्पष्ट पारे ।
FACEBOOK COMMENTS