काठमाडौं, पुस १६ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक बन्नका लागि संसद भंग गरेको आरोप लगाएका छन् । ‘ओलीको चुनाव गराउने मनसाय पनि छैन, सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढाएका छन्,’ उनले भने ।
४५ औं राष्ट्रिय मेलमिलाप दिवस अवसरमा पोखरामा बिहीबार आयोजित कार्यक्रमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले संसद भंग गरेर अन्तर्राष्ट्रिय खिचतानीको भुमरीमा देशलाई पार्न खोजेको आरोप लगाए । उनले जनताको थलो भंग गरेर देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अखडा बनाई अफ्गानिस्तान जस्तो बनाउन लागेको पनि बताए ।
‘संसद पुनस्र्थापना नै अहिलेको समस्या समाधान हो,’ उनले भने, ‘निर्वाचनमा गए कांग्रेसलाई फाइदा होला तर ७० वर्ष लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्छ । यसले हामीलाई शान्ति दिँदैन, त्यसैले प्रतिनिधिसभा पुनस्र्थापना अहिलेको आवश्यकता हो ।’
नेता पौडेलले संविधानको संरक्षण गरेमात्रै लोकतन्त्र बलियो हुने भएकाले संसद पुनस्र्थापना गर्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय समितिमा आपूmले संसद पुनस्र्थापनाबारे सर्वोच्चमा विचाराधीन रहेको मुद्दाका बारेमा यदि सर्वोच्चले संसद पुनस्र्थापना नहुने र ओली सरकारले पनि निर्वाचन नगरे के हुन्छ ? भनी राखेको जिज्ञासामा कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीले चुनाव नगराए नेपालमा बस्न सक्छन् भनी प्रतिप्रश्न गरेको जानकारी दिए ।
कांग्रेस निर्वाचनबाट डराएको होइन, विधि र र प्रक्रियासँगै संविधानको रक्षाका लागि आफू पार्टीमा पनि लडेको र ओली सरकारसँग पनि लड्ने नेता पौडेलले बताए । जनताले वामगठबन्धनलाई ५ वर्षसम्म सरकार चलाउन भनी म्यान्डेट दिएका हुन् तर पार्टीभित्रको विवाद मिलाउन नसकेर गैरकानुनी तवरले संसद भंग गरेर जनताको चाहना र इच्छामाथि कुठाराघात गर्न नपाइने बताए ।

पूर्व सभामुख एवं कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले ओली शैलीको कारण नेपाली जनताले दुःखले ल्याएको संविधान खतरामा परेको टिप्पणी गरे । संसद पुनस्र्थापना नै अहिलेको उपयुक्त विकल्प हुने उनको ठहर । कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, पूर्व मन्त्री एवं आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, पूर्व मन्त्री यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, खेमराज पौडेल, देवराज चालिसे, सांसद बिन्दुकुमार थापा, जिल्ला सभापति कृष्ण केसी, उपसभापति आईबहादुर गुरुङ लगायतले बोलेका थिए ।
