काठमाडौं, असोज ११ – चाडबाड नजिकिँदै गर्दा व्यापारीहरूले दुई महिनामै ३ अर्ब रुपैयाँभन्दा बढीको चिनी ल्याएका छन् । उद्योगीहरूले मौज्दात सकिन लागेको बताइरहँदा व्यवसायीले अस्वाभाविक रूपमा चिनी भित्र्याएका हुन् ।
आर्थिक वर्ष ०७७र७८ को पहिलो दुई महिनामा ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको चिनी ९बिट चिनी, खण्ड चिनीलगायत विभिन्न प्रकार० को आयात भएको छ । त्यसमध्ये सर्वसाधारणले उपभोग गर्ने चिनी भने २ अर्ब २९ करोड रुपैयाँको रहेको भन्सार विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा ९ करोड रुपैयाँको मात्रै चिनी आयात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षका दुई महिनाको परिमाण र रकम ३० गुणाभन्दा बढी हो । चालु आर्थिक वर्षका दुई महिनामा सवा ६ करोड किलोभन्दा बढी आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १८ लाख किलो मात्रै आएको थियो ।
सरकारले चिनी व्यवसायीलाई संरक्षण गर्ने नाममा ०७५ भदौ ३१ को मन्त्रिपरिषद् बैठकले वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको थियो । तत्कालीन वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले पठाएको सूचनामा परिमाणात्मक बन्देजको अवधिलाई ०७६ असार मसान्तसम्म निरन्तरता दिने उल्लेख छ ।
अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तो भई नेपालमा अत्यधिक आयात गरेर मौज्दात गरिसकेका केही व्यवसायीलाई उक्त निर्णयले धेरै फाइदा भएको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयले चिनी महँगिएको थियो । चिनी आयातमा लगाएको परिमाणात्मक बन्देज साउनबाट स्वतः खुला भएको थियो । तर सरकारबाट परिपत्र जारी भएन । पुनः बन्देज हुनेमा त्रासमा व्यवसायीले आयात गरेनन् । ‘चिनी आयात निरुत्साहित गर्ने नीतिकै कारण परिपत्र जारी भएन । आयात गर्नेरनगर्नेमै अन्योल भयो,’ एक व्यवसायीले भने, ‘जसले गर्दा पनि धेरै अन्तर देखिएको हो ।’ अहिले भने अत्यधिक आयात भएको हो ।
स्वदेशमा क्रसिङ भएको चिनी करिब डेढ महिनाअघि सकिएको चिनी उद्योग संघको भनाइ छ । स्वदेशी उत्पादन सकिने अवस्था भएपछि आफूहरूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जानकारीसमेत गराएको संघका अध्यक्ष शशि अग्रवालले बताए ।
‘डेढ महिनाअघि सकिनै लाग्दा मन्त्रालयमा जानकारी गराएका थियौं । छोटो समयमै धेरै आयात भएको रहेछ, स्वदेशमा कम हुँदा आयात हुनु राम्रै हो,’ उनले भने, ‘सरकारी सहुलियतको चिनी आउन बाँकी नै छ । तर विगतमा जस्तो स्वदेशी चिनी बिक्री नहुने अवस्था सिर्जना गर्नु हुँदैन । उत्पादन बिक्री नभए उद्योगीले किसानलाई भुक्तानी दिन सक्दैनन् ।’ बजारमा अत्यधिक चिनी आयात भए पनि खुद्रा मूल्य घटेको छैन । साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ७३ रुपैयाँमा बिक्री गरिरहेको छ । अन्य खुद्रा पसलमा भने ७८ देखि ८५ रुपैयाँसम्मा बिक्री भएको छ । बजारमा डेढ महिनादेखि चिनी नभएकाले बढी आयात भएको संघका उपाध्यक्ष राजकुमार अग्रवालले जानकारी दिए । ‘उद्योगीहरूसँग धेरै मौज्दात छैन । चाडबाडमा अभाव हुने आकलन गरेर आयातकर्ताहरूले बढी ल्याए,’ उनले भने, ‘आयातकर्तासँग पर्याप्त चिनी छ, चाडबाडमा कुनै समस्या हुँदैन । मूल्य पनि बढ्दैन ।’
व्यापारीले अत्यधिक रूपमा आयात गरिरहँदा सरकारी कम्पनीहरूले भने चिनी आयातमा ढिलासुस्ती गरेका छन् । चाडबाडलाई लक्ष्य गरी ०७७ साउन १२ को मन्त्रिपरिषद् बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १० हजार र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई २० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात गर्न स्वीकृति दिएको थियो । सहुलियतको चिनी साल्टले दसैंअगाडि ल्याउने जनाए पनि खाद्यको भने आउने छाँट छैन । खाद्य कम्पनीले दसैंपछि मात्रै आयात गर्न सकिने जनाएको छ ।
कम्पनीका अनुसार छुटको चिनी आयात गर्न आयातकर्ताहरूले सोधपुछ गरे पनि आवेदन दिएका छैनन् । हाल चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल दर छ । ५० प्रतिशत छुट पाउँदा सरकारी स्वामित्वका यी दुई कम्पनीले २० प्रतिशत मात्रै भन्सार तिरे पुग्छ । तर खाद्यको चिनी दसैंअघि आउन सम्भव छैन । खाद्य कम्पनीले गत वर्ष पनि १० हजार टन आयात अनुमति पाएको थियो । तर आयात गर्न सकेन ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS