काठमाडौं, चैत १ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताउनुभयो ।
सर्वोच्चले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर गर्नुभयो । यसअघि पनि वल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्नुहुँदै उहाँले अवको प्रहारमा गोल गर्नेमा आफूहरु नै हुनेमा ढुक्क रहेको बताउनुभयो ।
उहाँले हेभी इक्विपमेन्ट चालकलाई चालक अनुमतिपत्र वितरण गर्ने प्रक्रिया सहज नभएको उल्लेख गर्नुहुँदै अब समस्या समाधान गर्नमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । अव ट्रायल दिइसकेपछि शुल्कको व्यवस्था गरेर सुलभ र सहज ढङ्गले अनुमतिपत्र दिने काममा सरकारले तदारुकता देखाउने उहाँले बताउनुभयो ।
व्यवसायीले हेभी इक्विपमेन्ट नेपालमा ल्याइसकेपछि त्यसको प्रयोग र सञ्चालनको विधि के हो भन्ने विषयमा सरकारले नियमन र व्यवस्थापन गर्ने कुरामा सोच्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जनप्रतिनिधिले आफ्ना नाता पर्नेका नाममा हेभी इक्विपमेन्ट खरिद गरेर व्यवसायी विस्थापित हुने अवस्था भएकाले त्यसतर्फ महासङ्घले ध्यान दिन आवश्यक भएको बताउनुभयो ।
FACEBOOK COMMENTS