काठमाडौं, चैत १४ – नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिकाे बैठकले निधन भएका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको सम्मानस्वरुप तीन दिनसम्म पार्टीकाे झण्डा आधा झुकाउने भएकाे छ ।केन्द्रीय कार्यलय सानेपामा बसेकाे बैठकले साेक प्रस्ताव पारित गर्दै जोशीको सम्मानस्वरुप तीन दिनसम्म पार्टीकाे झण्डा आधा झुकाउने निर्णय गरेकाे हाे ।
जोशीको सम्मानस्वरुप कांग्रेसले चैत १५, १६ र १७ गते सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने भएकाे हाे । १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने पनि कांग्रेसले जनाएको छ ।
कांग्रेसले विज्ञप्तीमार्फत एक कुशल संगठक र सिङ्गो देशले एक क्षमतावान नेतृत्वलाई गुमाएको उल्लेख गर्दै जोशीको निधनबाट पार्टी र देशलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीको शुक्रवार उपचारका क्रममा निधन भएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्ष गरेका उनकाे आजै अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
FACEBOOK COMMENTS