काठमाडौं – टीकोटालो गरेको सात महिनापछि गत असारको सुरुवाततिर दुलही भित्र्याउँदा समीर बराइली खुसी नै थिए, यद्यपि मन फुकाएर खर्च गर्न भने सकिरहेका थिएनन् ।
विगत दुई वर्षदेखि सुनचाँदी व्यवसायमा संलग्न रहे पनि कोरोनाभाइरसको सङ्क्रमणका कारण सरकारले लगाएको लकडाउनले उनको व्यापार चौपट भइसकेको थियो ।
काठमाडौँको उत्तरी भेगमा रहेको कपनस्थित आफ्नै दुईतले घरको भुईँ तल्लामा रहेको उनको पसल लकडाउन सुरु भएदेखि नै बन्द थियो । तर, जब विवाहको कार्यक्रम सुरु भयो, उनलाई पैसाले होइन कि सोच्दै नसोचेको बाढीले दुःख दियो ।
लकडाउनकै माझ नौ/दश जना जन्ती लगेर उनले असार ११ गते बिहे सम्पन्न गरे । सबै पार्टी प्यालेसहरू बन्द भएको अवस्थामा बराइली परिवारले १३ गतेका लागि घरकै छतमा भोज तय गरेको थियो । दिउँसो तीन बजेका लागि पाहुना बोलाइएका थिए ।
“तर दुई बजेतिर एक्कासि ठुलो पानी पर्यो । साढे दुई बज्दा त घर अगाडिको सडक नदीमा परिणत भयो । पाहुनाहरू परै रोकिए । बाटो र पसलबिचमा लगाइएको करिब दुई फिट अग्लो पर्खाल नाघेर पसलमा बाढी पस्यो,” बराइली सुनाउँछन्, “त्यसपछि भोजको तयारीमा व्यस्त मैले आफ्नो सिँगारपटार र नयाँ सुट खोलेँ, अनि बाल्टिन र जग बोकेर तल झरेँ । पसलमा गरगहना राखिएको ठाउँसम्म पानी पुगेको भए बर्बाद हुने थियो ।” त्यसपछिका १५ दिनमा बराइलीले दुई चोटि त्यस्तै बाढीको पीडा भोगिसके ।
कपनमा कुनै नदी छैन, तर काठमाडौँमा तीव्रतम जनसङ्ख्या वृद्धि भएका क्षेत्रहरूको सूचीमा अग्रस्थानमा पर्ने यस ठाउँका हजारौँ बासिन्दाहरू विगत १२ वर्षदेखि वर्षैपिच्छे बाढीसँग जुध्दै आएका छन् ।
यहाँ बस्तीको माझबाट बग्ने खहरे खोलालाई करिब साढे दुई किलोमिटर लम्बाइसम्म आरसीसी पाइपभित्र हुलेर त्यसमाथि माटोले पुरी सडक बनाइएको छ । तर, जब उत्तरी काठमाडौँमा एकाध घण्टा बाक्लो पानी पर्छ, उक्त खहरे पुरिएको सुरुवाती विन्दुदेखि नै बाहिर निस्क्छ र सडकैसडक बग्न थाल्छ । सडकछेउका पसल र घरवालालाई आतङ्कित पार्छ । वर्षाको मात्रा नघटुन्जेल आवागमन ठप्प हुन्छ । अनि, सामाजिक सञ्जालमा रुचि राख्ने युवाहरूले लाइभ ब्रोडकास्टको अवसर पनि पाउँछन् ।
खहरेको बाढीले दैनिक जीवन प्रभावित हुँदै गर्दा स्थानीय तहका नेता समस्याको सम्भावित समाधानबारे अलमलमा छन् । उनीहरूसँग आफ्ना मतदातालाई भोलि यस्तो हुँदैन भनेर भन्नका लागि केही आश्वासनका पोका त छन्, तर त्यसभन्दा बढी विगतका क्रियाकलापप्रति पश्चात्ताप ।
FACEBOOK COMMENTS