काठमाडौं- भदौ ४, बिहिबार- उपत्यकामा निषेधाज्ञाका वेला ‘मर्निङ वाक’ गर्न पनि नपाइने भएको छ । प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा कडाइ गर्ने भएको छ ।
काठमाण्डौ उपत्यकामा तपाईँ आजदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ?
एकै छिन त हो, त्यहीँ पर पुगेर आइहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदि त्यसो गर्नुभयो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ ।
आजदेखि लागू हुने निषेधाज्ञाको आदेशअनुसार यसपाली भने प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा निकै कडाइ गर्ने छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने , ‘मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर ननिस्किनुहोस्, सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही हुन्छ ।’
त्यो ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐन अन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि लकडाउनमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन ।
कुनै सवारी पाससमेत जारी गरिने छैन । त्यसैले लकडाउनभन्दा आजदेखि लागू हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।
यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यस पटक दैनिक एक सयभन्दा बढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा शय्याको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए । आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनले बताए ।
उपत्यकाका तीन जिल्लाका प्रजिअको मङ्गलबारको बैठकले बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ ।
आजदेखि बजेदेखि अत्यावश्यक बाहेकका गतिविधि गर्न पाइने छैन । त्यो आदेश यही भदौ १० गतेसम्म लागू हुनेछ ।
सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम काठमाण्डौ उपत्यकामा लागू हुने गरी यो निर्णय गरिएको हो । अनावश्यक रुपमा मानिस घरबाट निस्किए कारबाही हुनेछ । सार्वजनिक तथा निजी सवारी साधनसमेत निस्कन पाउने छैनन् । यसपाली खाद्यान्न, औषधिजन्य बाहेकका ढुवानीसमेत रोकेको प्रजिअ दाहालले बताए ।
अत्यावश्यक सामग्रीलगायतका मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुने छन् । काठमाण्डौ उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनसमेत सञ्चालन गर्न पाइने छैन ।
FACEBOOK COMMENTS