काठमाडौं, १६ वैशाख – नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट तथा दूरसंचार सेवा प्रदायकहरुलाई कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न ९ बुँदे निर्देशन जारी गरेको छ । प्राधिकरणले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अबलम्बन गर्ने निर्देशन दिएको हो ।
यस्तै सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न, सेवाग्राहीको आवतजावत सकेसम्म कम हुने गरी महशुल भुक्तानी लगायत सेवाहरु यथासम्भव विद्युतीय माध्यमबाट गर्न गराउन प्रोत्साहन गर्न पनि प्राधिकरणले भनेको छ ।
सेवा प्रदायकहरुको सेवा केन्द्रबाट हुन सक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्न झ्याल, ढोका खुला राखि स्यानिटाइजरको व्यवस्था गर्न, बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरु सम्भवभएसम्म अनलाइन माध्यमबाट सञ्चालन पनि निर्देशन दिएको छ । कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै संक्रमणको जोखिन न्यून हुने गरी सेवा प्रवाह गर्ने, कर्मचारीहरुलाई समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य गर्ने वातावरण मिलाउने, यसका लागि आवश्यकताका आधारमा वर्क फ्रम होम, सिफ्ट वाइज वर्कको व्यवस्था गर्न प्राधिकरणले भनेको छ ।
कर्मचारीहरुमा संक्रमणको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था मिलाउने र संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन गर्ने तथा कन्ट्रयाक्ट ट्रेसिङ्गमा परेका कर्मचारीहरुलाई क्वारेन्टिन गर्ने व्यवस्था मिलाउन पनि प्राधिकरणले निर्देशन दिएको छ ।
सेवा प्रदायक संस्थाहरुले कोभिड–१९ सम्वन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि व्यवस्थापन समूह गठन गरी सो समूहलाई सक्रिय रुपमा परिचालन गर्ने, समुदायस्तरमा कोभिड–१९ को संक्रमण फैलिई महामारीको विशेष अवस्था आइपर्न सक्ने परिस्थितिलाई समेत मध्यनजर गरी अत्यावश्यकीय कार्यको निरन्तरताको लागि विस्तृत कार्य योजना बनाई कार्यान्वयन गर्न पनि प्राधिकरणले भनेको छ ।
FACEBOOK COMMENTS