काठमाडौं, मंसिर २९- मूल्य अकाशिएपछि चालू आर्थिक वर्ष (आव) को पहिलो तीन महीनामा ठूलो मात्रामा खुम्चिएको सुन आयात कात्तिकमा भने केही बढेको छ । चालू आवको साउनदेखि असोजसम्ममा रू ६ करोड ५ लाख मूल्य बराबरको मात्र सुन आयात भएको थियो । तर, कात्तिकमा भने रू २ अर्ब ७४ करोड ४६ लाख मूल्य बराबरको सुन आयात भएको छ । तथापि यो गत आवको कात्तिकको तुलनामा ३५ प्रतिशतले कम हो । गत आवको कात्तिकमा रू ३ अर्ब ७० करोड मूल्य बराबरको सुन आयात भएको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांकले देखाएको हो ।
मंसिरमा हुने वैवाहिक कार्यक्रमलाई लक्षित गरेरर वाणिज्य बैंकहरूले कात्तिकमा ठूलो मात्रामा सुन आयात गरेका हुन् । मंसिरमा पनि झण्डै रू ३ अर्ब मूल्य बराबरको ५०० केजी सुन आयात गरिएको नेपाल बैंकर्स संघले बताएको छ । नेपालमा सुन आयात गर्ने अख्तियारी वाणिज्य बैंकहरूलाई मात्र छ । विवाहको सिजन भएका कारण मंसिरमा उच्च मात्रामा सुनको कारोबार हुने व्यवसायीहरू बताउँछन् ।
नेपालमा सुनको मूल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । विगत एक वर्षदेखि अमेरिका र चीनबीचको व्यापार युद्धका अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दा नेपालमा पनि गत असारदेखि नै सुनको मूल्य बढ्दै आएको थियो । असारअघि नेपाली बजारमा प्रतितोला रू ६० हजारको हारहारीमा रहेको सुनको मूल्य त्यसयता रू ७३ हजार ५०० सम्म पुग्यो । अहिले प्रतितोला रू ७० हजारको हाराहारीमा सुनको कारोबार भइरहेको छ ।
सुनको मूल्य अकाशिँदै जाँदा घरेलु बजारमा सुनको कारोबारमा अत्यन्त कमी आएको थियो । त्यसपछि व्यवसायीहरूले नै बैंकहरूलाई सुन आयात नगर्न सुझाएका थिए । त्यसबीचमा व्यवसायीहरूले बैंकहरूसँग स्टकमा रहेको सुनले नै काम चलाएका थिए । तर, अहिले विवाहको सिजनका कारण सुनको कारोबारमा सुधार आएपछि बैंकहरूले त्यसको आयात गर्न थालेका छन् ।आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS