कास्की – कृषि विकास बैङ्कले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैङ्कले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ ।
सो सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको उपस्थितिमा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र बैङ्कका क्षेत्रीय निर्देशक चेतनारायण सापकोटाले हस्ताक्षर गरे ।
कृषिक्षेत्रको व्यावसायिकतामा विकास गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न मन्त्रालयले कृषि, पशुपक्षी तथा मत्स्यपालन र सहकारी तथा गरीबी निवारणसम्बन्धी कार्यक्रमलाई बैंकले प्राथमिकता दिने समझदारी भएको छ ।
कृषक, कृषि व्यवसायी र सहकारी संस्थालाई मन्त्रालयले प्रदान गर्ने अनुदानको रकम बैंकले खातामार्फत प्रदान गर्ने र शाखा नभएको ठाउँमा अन्य बैङ्कसँगको सहकार्यमा शून्य मौज्दातमा खाता खोल्ने सम्झौतामा उल्लेख छ ।
त्यस्तै बैङ्कले शैक्षिक प्रमाणपत्रका आधारमा नियमानुसार कर्जा प्रवाह, परियोजना धितो स्वीकार, गण्डकी प्रदेशभरको जग्गाजमीन र व्यवसाय धितो स्वीकार गरी सर्वसुलभ ब्याजदरमा लगानी गर्ने उल्लेख छ ।
रासस
FACEBOOK COMMENTS