बसन्त अर्याल
काठमाडौं– केही दशक अघि काठमाडौं उपत्यकामा पाउरोटी भनेकै कृष्ण पाउरोटी भनेर धेरैले बुझ्थे । नेपालको पहिलो कृष्ण पाउरोटी उद्योगले धेरै वर्षसम्म बजारमा एकाधिकार जमायो ।
पाउरोटी नै नदेखेका नेपालीलाई पाउरोटी खान सिकाउने र पाउरोटी संस्कार बसाल्ने स्व. कृष्णबहादुर राजकर्णिकारले २००५ सालमा कमलपोखरीस्थित आफ्नै घरमा पाउरोटी उद्योग स्थापना गरेका हुन् ।
उत्पादन थालेको ११ वर्षपछि उनी दिवंगत भएपनि उनका छोराहरूले बाबुको बिडो थाम्दै पाउरोटीको भनेकै कृष्ण पाउरोटीलाई बनाए ।
कृष्णबहादुरको निधनपछि छोरा र भतिजा पुस्तामा आइपुग्दा अंशबन्डा गरी छुट्टिने तर कृष्ण पाउरोटीको ट्रेडमार्कमा हक दाबी गर्ने विवादका कारण यसको व्यवस्थापन प्रभावित भयो ।
घरायसी विवादका कारण नयाँ आएका पाउरोटी उद्योगले कृष्ण पाउरोटीको बजार खोस्दै गए । व्यवस्थापन चुस्त नहुँदा क्यालिटी नराम्रो भयो भन्दै सरकारले केही समय सिलबन्दी समेत ग¥यो ।
अहिले विभाजित भएर आ–आफ्नो उद्योग चलाएका छन् । कृष्ण पाउरोटी भण्डार प्रालि नाममा कृष्णबहादुरका कान्छा छोरा घनश्याम राजकर्णिकारले चलाउँदै आएका छन् । घनश्यामका छोरा छैनन्, उनले आफ्नी छोरी प्रज्ञालाई पाउरोटी उद्योगको जिम्मा लगाएका छन् ।
केही समय अव्यवस्थित जस्तो बनेको कृष्ण पाउरोटीले प्रज्ञा आएपछि भने गति लिएको छ । कृष्ण पाउरोटीले अहिले पाउरोटी मात्र नभएर धेरै परिकार बजारमा ल्याएको छ ।
कृष्ण पाउरोटीले अहिले मानिसको स्वास्थ्यलाई ध्यान दिँदै आफ्ना परिकार ल्याएको प्रज्ञा राजकर्णिकारले बताइन् । पहिला मैदाको परिकार धेरै बन्थ्यो तर अहिले आटा, फापर, मकैबाट निकालेको परिकार धेरैनै मन पराएको उनले बताइन् । ‘डाक्टरहरुले पनि धेरै मैदाको नखानु भन्दै सुझाब दिन्छन्, हामीले त्यसलाई महशुस गरेर हाम्रो व्यवसाय भन्दा सर्वसाधरणको स्वास्थ्य ठूलो हो भन्ने सोचका साथ परिकार बनाइरहेका छौं,’ उनले भनिन् ।
अहिले मानिसलाई हरेक विशेष कार्यक्रमा केक नभइ नहुने नै भइसकेको छ । त्यसैले केकको माग धेरै छ । केकमा धेरै फ्लेभर उपलब्ध छन् । पाउरोटी झन् अनिवार्य भइसकेको छ हरेक घरमा । ‘पहिले पाउरोटी कहिले काहिँ मात्र खाइन्थो तर अचेल भातकै ठाउँ लिन थालेको छ,’ उनले अनुभव सुनाइन् ।
आफूले व्यवसाय गर्दा पहिलो प्रथामिकता गुणस्तरमा दिएको उनले बताइन् । यसको लागि कच्चा सामाग्रीमा धेरै नै ख्याल गनुपर्ने उनको अनुभव छ । ‘कहिले पुरानो आटा आएको हुन्छ । कहिले विग्रेको अण्डा आउँछ तर हामीले यो कुरामा धेरै नै ध्यान दिएका छौं,’ उनी भन्छिन् ।
मानवीय जनशक्तिबाट हुने त्रुटी पनि निरन्तर घटाउँदै लगिएको छ । हरेक कर्मचारीले आफ्नै लागि बनाइरहेको महशुस गरेर परिकार बनाइरहेका कारण पछिल्लो समय ग्राहकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको उनले बताइन् । ‘हाम्रो व्यवसय अहिले कमल पोखरीमात्र होइन, भैसेपाटीमा वियोन्ड ब्रेड नामबाट आफ्ना परिकार उपलब्ध गराउँदै आएको छौं,’ उनी भन्छिन् ।
कृष्ण पाउरोटी स्थापनामा आफ्ना हजुरबाले देखेको सपना उनी विस्तारै साकार पारिरहेकी छिन् । यसको पहिचान जोगाउन उनी कम्मर कसेर लागेकी छिन् ।
बैंकको जागिर छाडेर व्यवसाय
प्रज्ञा भारतको पुनेमा पढेर नेपाल आएकी थिइन् । उनका बुवाले उनलाई आफ्नै व्यवसायनै सम्हाल्न भने तर उनले मानिन् । उनलाई लग्यो, ‘अनुभव हासिल नगरी व्यवसायमा हात हाल्नुहुन्न ।’ आफ्नो व्यवसायिक दक्षताको लागि अरुकोमा काम गरिन् उनले ।
कृष्ण पाउरोटी भण्डार प्रालि की निर्देशक राजकर्णिकारले आफ्नै खुट्टामा उभिनको लागि जागिर गरेको बताइन् । उनले आफ्नो व्यवसाय भन्दा बाहिर बैंकिङ क्षेत्रमा १३ वर्ष काम गरिन् । बैंकमा १३ वर्ष काम गर्दा बल्ल आफ्नै व्यवसाय सम्हाल्न सकिन्छ भन्ने आँट आएको उनी बताउँछिन् ।
एउटा व्यवसाय चलाउने भनेको सानोतिनो काम नभएको उनको बुझाई छ । जन्मजात आर्थिक अवस्था मजबुत छ भन्दामा कोही व्यवसाय गर्न सक्षम हँुदैन भन्ने उनको धारणा छ । आफ्नो व्यवसायमा सञ्चालनमा चाहिने कर्मचारी व्यवस्थापन, बजारसँग डिलिङ, आफ्नो उत्पादनको गुणस्तर लगायतका विषयमा ज्ञान हुनुपर्ने उनी बताउँछिन् ।
‘मलाई कन्फिडेन्ट आयो अनि मैले बाबालाई हाम्रो व्यवसाय चलाउन सक्छु भनें । बाबा धेरै नै खुसी हुनु भयो किनकी बाबालाई हाम्रो व्यवसाय कसले धान्छ भन्ने चिन्ता थियो,’ उनले विगत सम्झिदै भनिन् ।
उनले कसैले व्यवसाय शुरु गर्नु भन्दाअघि अरुकोमा जागिर गर्न अरुलाई पनि सुझाब दिन्छिन् । बाहिर काम गरेको मानिसमा घमण्ड कम हुने र आफ्ना कर्मचारीलाई कसरी व्यवहार गर्ने भन्ने कुरा सिकिने उनको अनुभव छ । ‘मैले पढेर सिधै आफ्नो व्यवसायमा हात हालेको भए अहिले जस्तो सफलता हात लाग्दैनथ्यो,’ उनले भनिन्, ‘मैले मान्छेसँग कसरी बोल्नुपर्छ ? कसरी डिल गर्नुपर्छ ? भन्ने कुरा बाहिर काम गरेरै सिकेकी हुँ ।’ पढाइ सकाउँदा आफूसँग आत्मविश्वास नभएको तर जागिर गरेपछि एकाएक बढेको उनले महशुस गरेकी छिन् ।
आफ्नो विजनेस गर्दा अर्कै आनन्द
जागिर र आफ्नै व्यवसायमा कुन सजिलो भन्ने प्रश्नमा उनले दुवै काम सजिले नहुने बताइन् । तर आफ्नो व्यवसाय भनेपछि काम गर्न सहज हुने बताइन् । ‘जागिर गर्दा कति बेला ५ बज्ला जास्तो हुन्थ्यो तर आफ्नै व्यवास गर्दा समय गएको पत्तै हुँदैन,’ उनले अनुभव सुनाइन्, ‘आफ्नो व्यवसायमा एक दुई घण्टा बढी काम गर्दा पनि आनन्द नै फिल हुन्छ ।’
आफ्नो व्यवसाय गर्दा छुट्टी बस्न खासै मन नलाग्ने तर जागिर गर्दा कहिले शनिबार आउला जस्तो हुने गरेको पनि उनको अनुभव छ । घरपरिवारले सबैले साथ दिँदा व्यवसाय गर्न सजिलो भएको महशुस हुने गरेको बताउँछिन् ।
‘अरुकोमा काम गर्दा जोखिम कम हुन्छ तर आफ्नो व्यवसाय गर्दा बढी हुन्छ । आफ्नो व्यवसायमा डेडिकेसन बढी हुनुपर्छ,’ उनले भनिन्, ‘आफ्नो काम हो । जे गरे पनि हुन्छ भन्ने सोचे त्यो व्यवसाय फ्लप हुन्छ । समय भनेको जुन सुकै कामको लागि पनि महत्व हुन्छ ।’व्यवसयमा समयको महत्व नबुझ्ने व्यसायी हुन नसक्ने उनको ठम्याइ छ ।
उनले आफ्नो काममा सबै भन्दा महत्वपूर्ण कुरा कर्मचारी व्यवस्थापन भएको बताउँछिन् । ‘आफू हाकिम पल्टेर बस्ने कर्मचारीको पीर मर्का पनि नबुझ्ने भयो भने कर्मचारीले नै घात गर्छ,’ उनी भन्छिन्, ‘कर्मचारी बिना त कुनै व्यवसय एक्दै चलाउँछु भनेर कसैले चलाउन सक्दैन ।’
उनी सकेसम्म सानै भएपनि आफैंले व्यवसाय गर्न सुझाउँछिन् । ‘कसैकोमा जागिर गरुन्जेल त्यो अफिसको मान्छे भनेर चिनिन्छ तर आफ्नै व्यवसाय भए सधंैभरी व्यवसायी भनेर चिनिन्छ । आफ्नो प्रतिष्ठा बढाउनको लागि पनि आफ्नो व्यवसाय राम्रो हुन्छ ,’ उनको सुझाव छ ।
FACEBOOK COMMENTS