काठमाडौं, मंसिर १६ – लुम्बिनी कपिलवस्तु दिवसको अवसर पारेर केदार वाशिष्ठको अनुसन्धानमूलक कृति नेपाल विद्या : सिद्धान्त र प्रयोग सार्वजनिक भएको छ । अनुसन्धानकर्ताकी आमा केदार कुमारी भट्टराई र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले कृति नेपाल अर्पण गरे । नेपाल अर्पण संक्षिप्त समारोहमा बोल्दै शताब्दी वाङ्मय पुरुष जोशीले नेपाल विद्याले नेपालबारे विश्वकोशको ज्ञान दिने सम्भावना रहेको बताए ।
सन् १८९६ डिसेम्बर १ मा तत्कालीन ब्रिटिस इन्डिया सरकारका कर्मचारी जर्मन नागरिक डा. एलोइस एन्टोन फुहरर र नेपालका बडाहाकिम खड्ग शमशेरले लुम्बिनीको अशोक स्तम्भ पुनः पत्ता लगाएको दिनलाई स्मरण गर्दै सन् २००९ देखि डिसेम्बर १ लाई लुम्बिनी कपिलवस्तु दिवसका रुपमा मनाइँदै आएको छ ।
अनुसन्धानकर्ता केदार वाशिष्ठले गरेको अनुसन्धानमा नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको बेग्लै विधाका रूपमा सैद्धान्तिक आधार स्थापना गर्दै त्यसका दुई प्रयोग (१) लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन र (२) सिला खोजेको भाषा समेत देखाइएको छ । ४४४ पृष्ठको कृतिलाई विद्यार्थी पुस्तक भण्डारले प्रकाशन र वितरण गरेको छ ।
नेपाल विद्या विधा अध्ययन, अध्यापन र अनुसन्धानको नयाँ विधा रहेका कारण त्यसलाई पठनपाठन तथा अनुसन्धानको विषय बनाउन सहयोग होस् भनेर नेपालका सबै विश्व विद्यालयहरुमा अनुसन्धानकर्ता र प्रकाशकको हस्ताक्षरसहितका प्रति प्रदान गरिने बताइएको बताइएको छ ।
नेपाल विद्याको अर्को प्रयोग सिला खोजेको भाषा नेपालको भूक्षेत्र र नेपालका भाषाको खोजीसँग सम्बन्धित छ । खासगरी बेलायती अध्ययन परम्परामा नेपालको इतिहास लेखन र खोजी हुँदा नेपाली भाषामाथि भएको अन्यायलाई बेलायती अध्ययन परम्पराभन्दा अघिका ल्याटिन, आर्मेनियाली, अरबी र ग्रिसेली अध्ययन परम्पराले न्याय दिने गरी यसमा खोजी भएको छ ।
त्यसक्रममा सन् १७१७ मा नै नेपाली नामबाटै नेपाली भाषाको अध्ययन भएको सन् १७५९ मा देवनागरी लिपिमा नै नेपाली भाषा युरोपमा छपाइको युगमा पुगेको र १७७१ मा व्याकरण परम्परामा प्रवेश गरेको पाइएको छ । यसले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि खस वा गोर्खा भाषालाई नेपाली भाषाका रूपमा लादेको भन्ने गलत अध्ययन परम्परालाई सच्याएको छ । यस क्रममा किरात, लिच्छवि, मल्ल कालदेखिका भाषा तथा लेख्य चिह्नका नमुनालाई रोममा छपाइ भएको नेपाली भाषाका नमुनासँग तुलना गरेर निष्कर्ष निकालिएको वाशिष्ठले जानकारी दिए ।
FACEBOOK COMMENTS