काठमाडौंपुस १४ । नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधव कुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली र उनको प्रवृत्तिको आयु सकिएको बताएका छन् । मंगलबार संसद विघटनविरुद्ध काठमाडौंमा भएको विशाल प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले केपी ओली र ओली प्रवृत्तिको आयु सकिएको बताएका हुन् ।
‘निरंकुशताको बाटो समातेका केपी ओली र ओली प्रवृत्तिको आयु सकियो । नेपाली जनता दृढताका विरुद्ध उभिएका छन्’, नेता नेपालले सम्बोधनका क्रममा ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको बताए । ‘जुनसुकै कोणबाट हेर्दा पनि त्यो कदम अनुपयुक्त छ । स्वीकार्य छैन । असंवैधनिक कदमलाई अस्वीकार गर्न आन्दोलनको उद्घोष गरेका हौँ,’ नेता नेपालको भनाइ थियो ।
गणतन्त्रको आन्दोलन चलेका बेला खिसिट्युरी गरेर बलयगाढा चढेर गणतन्त्र आउदैन भनेर ओलीले भनेको स्मरण गर्दै नेता नेपालले ओलीले चालेको असंवैधानिक कदमपछि पार्टी अध्यक्षबाट हटाएको बताए । ‘अझै उहाँ सुध्रनुहुन्छ कि भनेर पार्टी सदस्यबाट हटाएका छैनौँ,’ नेपालको भनाइ छ । अझै पनि ओलीले पश्चाताप र गल्ती स्वीकार गरेमा सबै कुरा बिर्सन तयार रहेको नेता नेपालले जनाए ।
केही नेताहरु अझैपनि ओलीलाई मनाउने प्रयासमा रहेको भन्दै बालुवटारको बालुवा पेलेर तेल निकाल्ने प्रयासमा लागेका नेताहरुलाई शुभकामना दिए । उनले संविधान र कानुन मिच्ने प्रवृतिको विरोधमा सबै शक्तिले साथ दिनेमा आफु विश्वस्त रहेको पनि बताए । ‘आउनुहोस् सबै वामपन्थी, लोकतन्त्रवादी, नागरिक समाजका अगुवाहरु सोच्नुस्, हातेमालो गरौँ,’ नेता नेपालले आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरे । नेता नेपालले संविधान अनुसार प्रतिनिधिसभा भंग गइसकेपछि उनी काम चलाउ प्रधानमन्त्रीका रुपमा सिमित रहेको बताए ।
नेकपा र सूर्य चिन्ह नेकपा कै हुने भन्दै सूर्य कसको पक्षमा जाने हो भनेर भ्रममा नपर्न नेता नेपालले आग्रह गरे ।
FACEBOOK COMMENTS