मदन तिमल्सेना
तनहुँ, २४ माघ -केवलकारको निर्माण कम्पनी बन्दीपुर केवलकार प्रालिको शनिबार सम्पन्न पाँचौ साधारणसभा सम्पन्न भएको छ । शो अवसरमा बोल्ने वक्ताहरुले केवलकार निर्माणले बन्दीपुरको पर्यटनमा सुन्दरता थप्ने काम गरेको बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पुरानो र ऐतिहासिक नगरीको पर्यटन प्रबद्र्धनका लागि केवलकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि गाउँपालिका योजनाबद्ध ढङ्गबाट अगाडी बढिरहेको केवलकार निर्माणको थालनीले सुनमा सुगन्ध थप्ने काम गरेको बताए। बन्दिपुरमा आउने जति पनि पर्यटकलाई त्यस ठाउँमा आएर बस्दा यथेष्ट मात्रामा अर्गानिक खाने कुरा दिन थालेको समेत बताए । पर्यटन, कृषि, पूर्वाधारलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजना बनाइरहेको भन्दै थापाले बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना निर्माण गरिएको जानकारी दिए । पर्यटन प्रबद्र्धनका लागि पदमार्ग पर्खाल निर्माणलाई तीव्रता दिइएको र टुँडिखेलमा शिशाको दृश्यावलोकन स्तम्भ बनाउने योजना गाउँपालिकाको रहेको समेत बताए ।
नेपाल भ्रमण वर्ष २०२० का प्रदेश संयोजक जुद्ध गुरुङले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट भएको प्रयास उदाहरणीय रहेको बताए । कम्पनीका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बन्दीपुर गाउँपालिका–३ का अध्यक्ष हस्तबहादुर जिसी, खड्गमाई पूजा सञ्चालक समितिका अध्यक्ष आनन्दमान जोशी, नेपाल बुद्धिजीवि सङ्गठनका केन्द्रीय सदस्य मनहरि तिमिल्सिना, केज कन्सल्ट्यान्ट प्रालिका प्रबन्ध निर्देशक विष्णु पन्थी, कम्पनीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत मध्य पूर्वका प्रमुख कृष्णबहादुर ढकाल लगायतले मन्तव्य राखेका थिए । सञ्चालन प्रमुख कार्यकारी अधिकृत किरण पोख्रेलले गरेका थिए । सो अवसरमा जग्गादाताहरुलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा बन्दीपुर केवलकार प्रालिद्वारा स्थापित बन्दीपुर केबलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार २०७६ अन्तर्गत रु १ लाख बराबरको प्रबद्धक शेयर राशीबाट राष्ट्रिय समाचार समितिका दमौली समाचारदाता कृष्ण न्यौपाने सम्मानित भएका छन्।
FACEBOOK COMMENTS