काठमाडौं ।कैलालीमा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ ।मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा सार्वजनिक सवारी साधन जोर- बिजोर प्रणालीमा चलाउन पाइने आदेश गरेका हुन् ।
जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउने पाइनेछ ।अत्यावश्यक बाहेकका अन्य सवारीसाधनको हकमा जोर-बिजोर प्रणालीलाई निरन्तरता दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा बुधबारदेखि जिल्लामा होटल, रेष्टुरेन्ट र चिया पसलबाहेकका सबै पसल व्यवसाय बिहान ६ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।होटल, रेष्टुरेन्टले बिहान ६ देखि ८ बजेसम्म होम डेलीभरी भने गर्न सक्नेछन् । तर मानिसहरुको भीडभाड हुने सभा, सम्मेलन, गोष्ठी तथा कुनै पनि प्रकारका कार्यक्रम गर्न नपाइने जारी आदेशमा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले यसअघि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै अगामी असार २२ गतेसम्म निरन्तरता दिने आदेश गरेका छन् ।कैलालीमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
संक्रमण कम भए पनि जोखिम अझै कायमै रहेकाले संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्न स्थानीय प्रशासनले सबैमा अपिलसमेत गरेको छ ।
FACEBOOK COMMENTS