कैलाली, २४ असार । बुधबार मृतवस्थामा फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई जना किशोरीलाई पक्राउ गरेको छ ।
बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी १४ वर्षीया साथीलाई पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् ।
घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ । अधिकारीका अनुसार १५ वर्षकी किशोरीले बालकलाई जामुन खान भनी आफूसँगै लगेको र जमरा को किनारबाट धकेलेको अनुसन्धानबाट खुलेको छ ।
घरदेखि करिब पाँच सय मिटर उत्तरतर्फ कुलोमा पुगेपछि बालकले खुट्टामा लगाएको चाँदीका बाला निकालेर बालकलाई धकेलेर कुलोमा फालेको किशोरीले स्वीकार गरेको पनि एसपी अधिकारीले बताए ।
घटना खुल्ने डरले उनी साथीको घरमा गएर किताब लगेको, चाँदीका बाला साथीलाई लुकाउन दिएको पनि अनुसन्धानबाट खुलेको छ ।
लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बाला लुकाउन दिएको र बजारमा बिक्रीको प्रयाससमेत गरेको देखिएको प्रहरीको भनाइ छ ।
सोमबारदेखि बेपत्ता भएका टीकापुर नगरपालिका–१ का विवेक बिष्ट बुधबार मृत अवस्थामा फेला परेका थिए ।
FACEBOOK COMMENTS