काठमाडौं, असोज १५ – को-को विदा हुँदैछन मन्त्रीबाट भन्ने बहस चलिरहँदा, को-को बन्दैछन् नयाँ मन्त्री ? भन्ने बहसले त झन सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापकता पाइरहेको छ । नेकपाका एक स्थायी समिति सदस्यका अनुसार सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सचिवालय सदस्य नारायणकाजी श्रेष्ठसहित पार्टीमा प्रभावशाली मानिने र पुराना सरकारहरुमा समेत सफलता हासिल गरेको विश्लेषण हुने पूर्व नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, महेश बस्नेत र जनार्दन शर्मालार्ई यो पटक नेकपाले मन्त्री बनाउने प्रबल सम्भावना छ ।
लामाे समयदखि अर्थ, सूचना तथा सञ्चार र शहरी विकास मन्त्रालय हाल प्रधानमन्त्री आफैले सम्हाल्नु परिरहेकाे र केही मन्त्रालय टुक्राएर दुई, तिन वटा थप मन्त्रालय बनाइने तयारी पनि चलिरहेकाले यो पटक एक दर्जन बढी नयाँ नेताहरु मन्त्री बन्ने सम्भावना देखिन्छ ।नयाँ बन्ने मन्त्रीहरुमा स्थायी समिति सदस्य पम्फा भुसालदेखि पछिल्लो पटक भएको उपनिर्वाचनबाट निर्वाचित सांसद विद्या भट्टराई सम्मको चर्चा छ ।
त्यस्तै भारतद्वारा भूमि अतिक्रमण भइरहने सुदरपश्चिमको दार्चुलाका सांसद गणेश सिंह ठगुन्नालाई मन्त्री बनाउने प्रधानमन्त्रीले तयारी गरिरहनुभएको हल्ला छ ।सरकारबाट आफ्ना विश्वासिला पात्रहरु सुरुमा गोकुल बाँस्कोटा, त्यसपछि डा. युवराज खतिवडा र अहिले फेरि प्रदीप ज्ञवाली पनि विदा हुनुपर्ने अवस्था आउन लागेकोले युवा नेताहरु महेश बस्नेत र खोटाङका सांसद विशाल भट्टराईलाई मन्त्रिमण्डलमा लैजाने प्रधानमन्त्रीले तयारी गर्नुभएको चर्चा प्रधानमन्त्रीको समूहमा रहेका नेताहरुमा चल्ने गरेको छ ।
उता कार्यकारी अध्यक्ष प्रचण्डले उर्जामन्त्री पुन र खानेपानी मन्त्री मगर फिर्ता आए आफ्नो समूहमा प्रभावशाली मानिने नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई अघि सार्ने लगभग पक्का जस्तै छ ।त्यस्तै तेस्रो धार अर्थात आजको नेकपामा निर्णायक शक्ति मानिने र वरिष्ठ नेताहरुसमेत रहनुभएको अर्काे समूह भने यो पटक नेताहरु सुरेन्द्र पाण्डे वा भीम रावल मन्त्रिमण्डलमा समावेश हुनेमा ढुक्क देखिन्छ । यो समुहले पाण्डे र रावलमध्ये सके दुवैजना नत्र एक जना मन्त्री बनाउन जोड गर्ने र पछिल्लो पुस्ताबाट ओखलढुंगाका सांसद यज्ञराज सुनुवारलाई अघि सार्ने तयारी गरेको छ ।
विदा नहुनेहरु:सम्भवत: नेकपाले दुई वर्ष कार्यकाल नबिताएका मन्त्रीहरुलाई विदा गर्ने छैन । त्यसो हुँदा कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, कानून मन्त्री शिवमाया तुम्बाहाम्फे, भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङ विदा हुने छैनन् ।तर २ वर्ष कार्यकाल पुरा भएपनि परराष्ट्र मन्त्री ज्ञवाली र भूमिसुधार मन्त्री पद्मा अर्याललाई भने विदा नगर्ने सोचमा प्रधानमन्त्री रहनुभएको देखिन्छ । केही मन्त्रालय टुक्राएर भएपनि उहाँहरुलाई यथावत राख्ने प्रधानमन्त्रीको योजना रहेको स्रोत बताउँछ ।यद्दपी मन्त्रिमण्डल पुनर्गठनको सवालमा २ वर्षको समयावधि पुरा गरेकालाई हटाउने कुनै वैधानिक समझदारी नेताहरुले गरेका छैनन । त्यसैले प्रधानमन्त्री बाहेक जुनसुकै मन्त्री परिवर्तन हुन सक्ने सम्भावना पनि छ ।
FACEBOOK COMMENTS