काठमाडौँ, ८ पुस – सरकारले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरूमा खोप दिने गरी तयारी अगाडि बढाएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप दिने गरी काम अघि बढेको जानाकरी दिए।
त्यसका लागि ‘लक्षित समूह पहिचान समिति’ ले सूची संकलनको काम अघि बढाएको उनले बताए। ‘समितिले सबै अस्पतालहरूलाई आफ्ना स्वास्थ्यकर्मी लगायत कर्मचारीको विवरण पठाउन भन्छ। त्यसपछि उक्त विवरण केन्द्रमा आउँछ। त्यसको आधारमा स्वास्थ्यकर्मीलाई खोप दिइने हो,’ उनले भने।
सरकारले पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप दिने जनाएको छ। प्रमुख तिंकरीका अनुसार ३ प्रतिशतमध्ये १.५ प्रतिशत खोप स्वास्थ्यकर्मीका लागि खपत हुने छ। जसमा सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र त्यसपछि अन्य बिरामीलाई जाँच गर्ने स्वास्थ्यकर्मीलाई खोप दिइने उनी बताउँछन्।
यसरी हेर्दा खोप पाउने पहिलो प्राथमिकतामा कोभिड विशेष अस्पतालहरूमा काम गर्ने स्वास्थ्यकर्मी रहनेछन्। अहिले सरकारले ती सबै अस्पतालहरूसँग समन्वय गरेर स्वास्थ्यकर्मीहरूको सूची संकलन कार्य गरिरहेको छ।
स्वास्थ्यकर्मीपछि भने फ्रन्टलाइन र जोखिम क्षेत्रमा काम गर्ने मानिसहरूलाई खोप दिइने प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास्थ्यकर्मीले खोप पाएपछि मात्र अन्य जोखिममा रहेका मानिसहरूले खोप पाउने बताए।
तर नेपालमा खोप कहिलेसम्म आइपुग्छ भन्ने यकिन छैन। प्रमुख तिंकरले पनि नेपालमा कहिलेसम्म खोप आउँछ भनेर ठ्याक्कै भन्न नसकिने बताउँछन्। यद्यपि कोभ्याक्स अन्तगर्तको खोप भने सन् २०२१ को चार महिनासम्म आउनसक्ने उनको भनाइ छ।
FACEBOOK COMMENTS