काठमाडौं, कात्तिक ५ – बिमा समितिले बिमा कम्पनीहरुलाई कोरोना बिमा गराएका संक्रमितहरुको उपचार खर्च बिमा रकमबाट असुल गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
समितिले बुधबार निर्जीवन बिमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै सरकारले नि:शुल्क बिमा गराउने भनी तोकेका संक्रमितहरुले कोरोना बिमा गराएको खण्डमा उनीहरुको उपचार खर्च बिमा रकमबाट असुल गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारले आर्थिक रुपमा विपन्न तथा अशक्त, असहाय, अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीको मात्र नि:शुल्क कोरोना उपचार गर्ने निर्णय गरेको थियो । तर उनीहरूले कोरोना बिमा गरेको भए परीक्षण तथा उपचार खर्च कोरोना बिमाबाट काटिने बताएको थियो ।
सरकारको सोही निर्णय कार्यान्वयन गर्दै समितिले बिमा कम्पनीले उल्लेखित प्रकृतिका व्यक्तिहरुको कोरोना बिमा भएको खण्डमा सरकारले गर्ने उपचारमा लाग्ने खर्च बिमा रकमबाट असुली गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।
बिमा समितिको यो परिपत्रसँगै अब कोरोना बिमा गराएका र सरकारले तोकेअनुसारको मापदण्डमा परि नि:शुल्क उपचार सेवा पाउनेहरुले कोरोना बिमाबापतको रकम पाउने छैनन् ।
FACEBOOK COMMENTS